जनता टाइम्स

२१ श्रावण २०८३, बिहीबार १८:१२

संसद्मा ड्रेसकोड अनिवार्य, कालो चस्मा लगाउन पनि रोक


काठमाडौं,  साउन २१ ।   संसद्को गरिमा र मर्यादा कायम राख्न सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई तोकिएको ड्रेसकोड पालना गर्न तथा संसद् बैठकमा कालो चस्मा नलगाउन निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री, मन्त्री तथा केही सांसदहरूले संसद्मा लगाएको पोशाकबारे आलोचना भइरहेका बेला सभामुख अर्यालले सबै सांसदलाई संसदीय मर्यादाअनुसारको पोशाकमा उपस्थित हुन आग्रह गर्नुभएको हो।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को गरिमा, अनुशासन र सांसदहरूको आचरणबारे छलफल भएको थियो। सो क्रममा सभामुख अर्यालले ड्रेसकोड कार्यान्वयन गराउन सम्बन्धित दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको बताइएको छ।

संसद्मा कालो चस्मा र निर्धारित ड्रेसकोड विपरीतको पोशाक प्रयोग गरिएको विषयमा सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले समय–समयमा प्रश्न उठाउँदै आएका थिए। त्यसपछि संसद्को मर्यादा कायम राख्ने उद्देश्यले सभामुखबाट यो निर्देशन जारी गरिएको हो।