जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार ०८:५०

अमेरिकामा ‘बर्थ टुरिजम’ रोक्न ट्रम्पको नयाँ आदेश, जन्मसिद्ध नागरिकता थप सीमित गर्ने प्रयास


वासिङ्टन, साउन २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता थप सीमित गर्ने र ‘बर्थ टुरिजम’ (बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यास) रोक्न दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

नयाँ आदेशअनुसार निश्चित अवस्थामा अमेरिकामा जन्मिएका विदेशी अभिभावकका शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने व्यवस्था गरिएको छ। साथै, पर्यटकको रूपमा अमेरिका पुगेर बच्चा जन्माई नागरिकता दिलाउने अभ्यासमाथि पनि प्रतिबन्ध लगाइएको छ।

ट्रम्पले यो कदम अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोग रोक्न आवश्यक रहेको बताएका छन्। ट्रम्प प्रशासनले विशेषगरी केही विदेशी नागरिकहरूले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग गरेको दाबी गर्दै आएको छ।

यद्यपि, कानुनविद्हरूले आदेशका केही प्रावधानले अमेरिकी संविधानको १४औँ संशोधनसँग बाझिन सक्ने भन्दै कानुनी चुनौती सामना गर्नुपर्ने बताएका छन्। अमेरिकी सर्वोच्च अदालतले यसअघि पनि ट्रम्पको यस्तै प्रयास कार्यान्वयन गर्न रोक लगाएको थियो।

गैरदलीय अनुसन्धान संस्था माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार ‘बर्थ टुरिजम’ मार्फत हुने जन्म अमेरिकाको कुल जन्मदरको सानो हिस्सा मात्र हो। विशेषज्ञहरूले राष्ट्रपति आदेशमार्फत अमेरिकामा जन्मिसकेका शिशुको नागरिकता खोस्न नमिल्ने तर्क गरेका छन्।