जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार ०९:००

थुनुवा बोकेको भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना गम्भीर घाइते


रुकुम पश्चिम, साउन २२। रुकुम पश्चिममा थुनुवा बोकेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

बिहीबार साँझ मुसीकोट नगरपालिका–८ ताउनेस्थित मध्यपहाडी राजमार्गमा जिल्ला कारागार कार्यालय रुकुम पश्चिमको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यानले विपरीत दिशाबाट आइरहेको क.प्र. ०३००१ प ०७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा आठबिसकोट नगरपालिका–७ का २१ वर्षीय निवास बोहराको मृत्यु भएको छ। मोटरसाइकलमा सवार आठबिसकोट नगरपालिका–१० का १८ वर्षीय गणेश शाही गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार उक्त भ्यान थुनुवा बन्दीलाई साक्षी बयानका लागि रुकुमपूर्वस्थित जिल्ला अदालतमा उपस्थित गराएर रुकुम पश्चिम फर्कने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।