जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार ०९:०५

देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिमबाट सतर्क रहन आग्रह


काठमाडौं, साउन २२ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने सम्भावना छ। तराईका केही क्षेत्रमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

रातिको समयमा पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा तथा हिमाली क्षेत्रमा वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

महाशाखाले लगातारको वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्ने, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै, मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेरी सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ।