जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार ०९:१६

वर्षाका कारण देशभरका सडक प्रभावित, यात्रामा सावधानी अपनाउन आग्रह


काठमाडौं, २२ साउन। अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र बाढीको जोखिमका कारण एक दर्जनभन्दा बढी सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन भइरहेको छ।

कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिँदा अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि लामासाँघु–रामेछाप सडकखण्ड अवरुद्ध भएको छ। वैकल्पिक मार्गमार्फत यातायात सञ्चालन गरिएको छ।

यसैगरी रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको कालीगण्डकी करिडोर, रुकुम पश्चिमको भेरी करिडोर तथा मुस्ताङको बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

म्याग्दीको बैसेरी र भिरकाटे क्षेत्रमा सडक बगाउँदा बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा यातायात प्रभावित भएको छ भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ लेख क्षेत्रमा सुक्खा पहिरो खस्दा मदन भण्डारी सडकखण्ड अवरुद्ध भएको छ।

नेपाल प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।