जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार १७:५२

५०० भन्दा धेरै रोहिङ्ग्या नेपाल छिरे : प्रहरी


काठमाडौं, साउन २२  ।  खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा ५०० भन्दा धेरै रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेका पाइएको छ ।

विभिन्न समयमा नेपाल–भारत सीमा नाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैधरूपमा नेपाल प्रवेश गरेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिनुभएको छ ।प्रहरीका अनुसार अहिलेसम्म ५२६ जना रोहिङ्ग्या नेपालमा रहेका छन् । यसमा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन् । उनीहरू काठमाण्डौको कपन, लसुनटार र राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोवास गरिरहेका प्रहरीको भनाइ छ ।

प्रहरी नायब महानिरीक्षक काफ्लेले खुला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाले पहिचानमा समस्या भएको बताउनुभयो । विदेशी नागरिक अवैधरूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढाएको उहाँको भनाइ छ ।म्यानमारमा सन् २०१७ को अगस्टमा सैन्य हस्तक्षेप भएको थियो । त्यसपछि लाखौँ रोहिङ्ग्या छिमेकी बङ्गलादेशमा शरण लिन पुगे । त्यहीँबाट उनीहरू बिस्तारै भारत हुँदै नेपालमा प्रवेश गर्न थालेको अनुमान गरिन्छ ।