काठमाडौं, साउन २२। नेपाली कांग्रेसको संस्थापनइतर पक्षले निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किंदा धरपकड गरिए विरोधमा उत्रिने चेतावनी दिएको छ।
शुक्रबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले देउवा नेपाल फर्किएपछि कुनै प्रकारको धरपकड भए त्यसको प्रतिवाद गर्ने बताउनुभयो।
उहाँले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादसम्बन्धी पुनरवलोकनको अनुमति दिएको उल्लेख गर्दै विशेष महाधिवेशन अवैधानिक भएकाले आफूहरूले नै पार्टीको आधिकारिकता पाउने दाबी गर्नुभयो।
कोइरालाका अनुसार पूर्वसभापति देउवा साउन २६ गते नेपाल फर्किएर राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुनेछ। देउवाले आधिकारिकता पाए नेपाली कांग्रेस पुनः एकढिक्का हुने उहाँको दाबी थियो।
उहाँले डा. शेखर कोइरालाले राष्ट्रिय भेलाप्रति समर्थन जनाइरहनुभएको पनि बताउनुभयो।
नेपाली कांग्रेसको असन्तुष्ट पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने कार्यक्रम तय गरेको छ।














प्रतिक्रिया दिनुहोस्