जनता टाइम्स

२३ श्रावण २०८३, शनिबार १७:०९

प्रधानमन्त्री शाहलाई मनीष झाको जवाफ : ‘सरकार एक्लो छैन, सुधार गर्नुपर्ने पक्ष छन्’


काठमाडौं, साउन २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकार एक्लो नरहेको बताउनुभएको छ।

प्रधानमन्त्री शाहले शुक्रबार मध्यराति सामाजिक सञ्जालमार्फत सही समय आउन केही समय लाग्ने र कहिलेकाहीँ सत्यको पक्षमा एक्लै लड्नुपर्ने अवस्था आउने उल्लेख गर्नुभएको थियो।

उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै नेता झाले परिवर्तनका लागि महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको बताउनुभएको हो।

उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘परिवर्तनका लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ।’

प्रधानमन्त्री शाहको नियत र आशयप्रति आफूहरूको कुनै शङ्का नरहेको तर सरकार सञ्चालनमा सुधार गर्नुपर्ने केही पक्ष रहेको उहाँले उल्लेख गर्नुभएको छ।

‘हिजो सदनमा भनेझैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नैपर्ने केही पक्ष छन्,’ उहाँले भन्नुभएको छ।

सरकारले पाएको ऐतिहासिक अवसर खेर जान नदिन आफूहरूले निरन्तर सजग गराउने र खबरदारी गर्ने पनि नेता झाले बताउनुभएको छ।

उहाँले भन्नुभएको छ, ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ।’

जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने बताउँदै नेता झाले आफू सरकारको साथमा रहेको स्पष्ट पार्नुभएको छ।

‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ उहाँले भन्नुभएको छ।