जनता टाइम्स

२४ श्रावण २०८३, आईतवार १५:४०

‘सिंहदरबार’को नाम फेर्नुपर्ने हरि ढकालको प्रस्तावमा मोहन श्रेष्ठको कटाक्ष : ‘तपाईंको नाम गोबर राखे हुन्न ?’


काठमाडौं, साउन २४ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बताएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध जनाएको छ।

ललितपुरमा आयोजित ‘नेसनल गभर्नेन्स समिट’लाई सम्बोधन गर्दै ढकालले नेपालमा सिंह नै नभएको भन्दै सिंहदरबारको नाम ‘अनामनगर दरबार’ राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

ढकालले राजनीतिक परिवर्तनपछि विभिन्न ठाउँका नाम परिवर्तन गरिएको उल्लेख गर्दै सिंहदरबारको नाम पनि परिवर्तन गर्नुपर्ने बताउनुभएको हो। उहाँले नामसँग जोडिएको पुरानो सोच र प्रवृत्ति परिवर्तन गर्नुपर्ने तर्क गर्नुभएको थियो।

ढकालको उक्त अभिव्यक्तिप्रति राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले कटाक्ष गर्नुभएको छ। उहाँले ढकाललाई ‘उपबुज्रुक’को संज्ञा दिँदै व्यङ्ग्यात्मक रूपमा नाम परिवर्तनको प्रस्ताव गर्नुभएको हो।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत ‘जसको मनमा हरि नै छैन, उसको नामचाहिँ हरि ! गोबर नाम राखे हुन्न ?’ भन्दै ढकालप्रति कटाक्ष गर्नुभएको छ।

सिंहदरबारको नाम परिवर्तनको विषयमा ढकालको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समेत पक्ष–विपक्षमा विभिन्न प्रतिक्रिया देखिएका छन्।