जनता टाइम्स

२४ श्रावण २०८३, आईतवार १५:४३

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए


काठमाडौं, साउन २४ । तीन दिनदेखि बेपत्ता कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन्।

६५ वर्षीय सिंहको शव आइतबार कपिलवस्तुको गोरुसिंगे जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। खोजीका क्रममा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगलमा उनले प्रयोग गर्ने मोटरसाइकल फेला परेको थियो।

प्रहरीले सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको थियो। तीन दिनपछि जंगलमा उनको शव फेला परेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिंह कपिलवस्तु नगरपालिकाका पूर्वमेयरका साथै नेपाली कांग्रेसका सक्रिय नेता थिए।