जनता टाइम्स

२४ श्रावण २०८३, आईतवार १५:४८

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


काठमाडौं, साउन २४ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी जनजातिको विशिष्ट पहिचान, संस्कृति र परम्परा नेपालको राष्ट्रिय गौरव भएको बताउनुभएको छ।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हित सुनिश्चित गरेको बताउनुभयो।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै उहाँले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिको जल, जमिन र प्राकृतिक स्रोतसँग गहिरो तथा आध्यात्मिक सम्बन्ध रहेको बताउनुभयो।

राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताउनुभयो। स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले शिक्षामा पहुँच विस्तार गर्दै समुदायलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।

नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि नम्बर १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको स्मरण गर्दै राष्ट्रपति पौडेलले आदिवासी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजप्रति नेपालको प्रतिबद्धता रहेको बताउनुभयो।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि आदिवासी जनजातिको हक, हित संरक्षण र संवर्द्धनका लागि संविधानमा आदिवासी जनजाति आयोगको व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो। आयोगले आदिवासी समुदायको इतिहास, भाषा र संस्कृतिको संरक्षण तथा सशक्तीकरणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ।

राष्ट्रपति पौडेलले तराई–मधेशसहित देशका सबै क्षेत्रमा रहेका आदिवासी समुदायको न्याय र अधिकार सुनिश्चित नगरी समृद्ध नेपाल निर्माण सम्भव नहुने बताउनुभयो। लोकतान्त्रिक संवाद र संवैधानिक प्रक्रियामार्फत असन्तुष्टिहरूको समाधान गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो।

आदिवासी जनजातिमा रहेको परम्परागत ज्ञान, सीप र प्रविधिलाई व्यावसायिक रूपान्तरण गरी आर्थिक सशक्तीकरण गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले आदिवासी संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिन सकिने बताउनुभयो। उहाँले ‘ओपन एयर लिभिङ म्युजियम’ जस्ता अवधारणामार्फत आदिवासी संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो।