जनता टाइम्स

२४ श्रावण २०८३, आईतवार १५:५४

विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइयो


काठमाडौं, साउन २४ । विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइएको छ।

दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा आदिवासी जनजाति समुदायका विभिन्न संघसंस्था तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमअघि भृकुटीमण्डपदेखि खुलामञ्चसम्म र्‍याली निकालिएको थियो। र्‍यालीमा सहभागीहरूले आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनको माग गर्दै विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा चयन गरिएको हो।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरूले विभिन्न भाषा, संस्कृति, परम्परा तथा प्रकृतिसँग जोडिएको परम्परागत ज्ञान र अभ्यास पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्।

दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति, भाषा, परम्परा तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध संरक्षण गर्दै उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।