काठमाडौं, साउन २५ ।सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए। दुई नेताबीच करिब ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाहले पछिल्लो समय आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको आशयको अभिव्यक्ति दिएपछि लामिछाने असन्तुष्ट रहेको बताइएको छ। भेटमा सरकारका सम्भावित कदम, राजनीतिक नियुक्ति तथा पार्टीका अपेक्षालगायत विषयमा छलफल भएको स्रोतको भनाइ छ।
त्यस्तै, प्रधानमन्त्री शाहले गर्ने भनिएको भारत भ्रमण र सभापति लामिछानेको प्रस्तावित चीन भ्रमणका विषयमा समेत छलफल भएको बुझिएको छ।
उच्च स्रोतका अनुसार भेटमा राजदूत छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिकाका विषयमा समेत कुराकानी भएको थियो।
तर बालुवाटार स्रोतले दुई नेताबीच गम्भीर दरार उत्पन्न भएको भन्ने बुझाइ सही नभएको दाबी गरेको छ। स्रोतले भेटलाई नियमित राजनीतिक छलफलका रूपमा लिनुपर्ने जनाएको छ।
लामिछाने पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समेत लिएर बालुवाटार पुगेको पार्टी स्रोतले दाबी गरे पनि सुरक्षा स्रोतले भने यसको पुष्टि गरेको छैन। प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन पनि भेटमा सहभागी रहेको बताइए पनि उनले आफू उक्त भेटमा सहभागी नभएको बताएका छन्।
प्रधानमन्त्री बालेन शाह प्रधानमन्त्री बनेपछि लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री शाहले निवासमा अनौपचारिक तथा पारिवारिक भेटघाटबाहेक अन्य भेटवार्ता प्रायः नगर्ने गरेको बताइन्छ।
यसअघि भएको भेटमा भने लामिछाने र शाहसँगै कुमार बेनसहित उच्च तहका केही व्यक्तिहरू सहभागी रहेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको थियो।














प्रतिक्रिया दिनुहोस्