जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार १६:०६

लागूऔषध कारोवारीको नयाँ शैली : घरमा सीसीटीभी, फलामे गेट र कुकुर पालेर खैरो हेरोइनको ब्यापार


पक्राउ परेका आरोपी यसअघि लागुऔषध मुद्दामा कैद भुक्तान गरेर छुटेका पेसेवर अपराधी हुन् ।

काठमाडौं, साउन २५ । प्रहरीको अप्रेशन बढेसँगै लागूऔषध कारोवारीले नयाँ शैली अपनाएको तथ्य उजागर भएको छ । ललितपुरमा घरमा सीसीटीभी जडान र कुकुर पालेर खैरो हेरोइन कारोबार गरेको पाइएपछि यो शैलीबारे प्रहरी जानकार भएको हो ।

प्रहरीका अनुसार ललितपुरको कुपण्डोलमा एक युवकले घरमा सीसीटीभी जडान गरेर लागुऔषध खैरो हेरोइन कारोबार गर्ने गरेको भेटिएको हो । शनिबार लागुऔषध नियन्त्रण ब्युरोले गरेको अपरेसनमा सीसीटीभी जडान गरेर पक्राउबाट बच्न कुकुर समेत परिचालन गर्ने लागुऔषध कारोबारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–१ घर भएका २९ वर्षीय प्रज्वल केसी छन् ।

आरोपीलाई ४ वटा फलामे गेट तोडेर पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी सुबास बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार केसीको साथबाट प्रहरीले ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

पक्राउ परेका आरोपी यसअघि लागुऔषध मुद्दामा कैद भुक्तान गरेर छुटेका पेसेवर अपराधी हुन् । केसी यसअघि पनि लागुऔषध मुद्दामा ३ वर्ष ६ महिना जेल बसेको प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा देखिएको छ ।

केसीले कारोबार गर्न प्रयोग गर्दै आएको फरक सिमकार्डसहित ५ वटा मोबाइल पनि प्रहरीले बरामद गरेको छ । आफ्नो कारोबारको सूचना चुहावट हुन नदिन र पक्राउबाट बच्न केसीले घरमा ३ वटा फलामको गेट बनाएका थिए । तेस्रो गेट पार गरेपछि मात्रै उनले खैरो हेरोइन कारोबार गर्ने कोठामा पुग्न सकिन्थ्यो । ४ वटा सीसीटीभी क्यामेरा जडान गरेर सुरक्षाकर्मी वा सुराक आएको निगरानी गर्ने उनले घरमा सुरक्षाको लागी दुई वटा कुकुर समेत पालेका एसएसपी बोहराले बताउनु भयो। उहाँका अनुसार कारोबारीको बेडरुसम पुग्न ३ वटा फलामे गट पार गर्नुपर्नेगरी सतर्कता अपनाइएको भेटिएको छ ।

ब्यूरोका अनुसार खैरो हेरोइन किन्न जानेहरूसँग उनी प्रत्यक्ष भेट्दैन थिए । सीसीटीभी मनिटर गरेर खरिद गर्ने मान्छे यकिन भएपछि उनले आफ्ना सहयोगीमार्फत डेलिभरी दिने गरेको पाइएको छ ।