जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार १७:३४

रवि लामिछानेले आफूलाई ‘गुन तिर्न बाँकी’ रहेको प्रचण्डको भनाइ


काठमाडौं, २५ साउन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गुन तिर्न बाँकी रहेको बताउनुभएको छ।

सिंहदरबारमा सोमबार पत्रकारहरूसँगको भेटमा प्रचण्डले रास्वपाका सभापति लामिछानेबाहेकका नेताहरूसँग नियमित संवाद हुने गरेको बताउनुभयो।

लामिछाने, डीपी अर्याल र विराजभक्त श्रेष्ठ आफू नेतृत्वको सरकारमा मन्त्री रहिसकेकाले उनीहरूलाई बुझ्न आफूलाई कठिन नभएको उहाँको भनाइ थियो।

‘रवि लामिछाने, डीपी अर्याल र विराजभक्त सबै मेरो क्याबिनेटमै बस्नुभएको हो। त्यसैले उहाँहरूलाई बुझ्न मलाई गाह्रो छैन। उहाँहरूसँग भन्न पनि गाह्रो छैन। मेरो नियमित संवाद भइरहेको छ, कैयौँ विषयमा सल्लाह पनि मिलिरहेको छ,’ प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्रीचाहिँ अब अर्कै खालको हुनुहुन्छ।’

प्रचण्डले रास्वपा सभापति लामिछानेमा राजनीतिक परिपक्वता बढ्दै गएको बताउनुभयो। तुलनात्मक रूपमा लामिछानेमा राजनीतिक परिपक्वता देखिएको उहाँको टिप्पणी थियो।

‘तुलनात्मक रूपमा राजनीतिक परिपक्वता रविमै रहेछ भन्ने कुरा सबैले महसुस गरेकै छ,’ प्रचण्डले भन्नुभयो, ‘फेरि मेरो त उहाँले गुन तिर्न पनि बाँकी छ।’

विगतमा संसद्मा आफूले लामिछानेको बचाउ गरेको स्मरण गर्दै उहाँले लामिछानेलाई जेलमा समेत भेट्न गएको बताउनुभयो।

‘मैले पहिलाको संसद्मा उहाँको धेरै बचाउ गरेको छु। सार्वजनिक रूपमा पनि बोलेको छु। जेलमा भेट्न पनि गएको छु र बाहिर आएर पनि बोलेको छु,’ प्रचण्डले भन्नुभयो।

संविधान संशोधनभन्दा पुनर्लेखनको प्रयास भएको आरोप

प्रचण्डले बालेन शाह नेतृत्वको सरकारले गठन गरेको संविधान संशोधन कार्यदलले संविधान संशोधनभन्दा पुनर्लेखन गर्ने उद्देश्य राखेर काम गरेको दाबी गर्नुभएको छ।

उहाँका अनुसार कार्यदलले संविधानका राजनीतिक सिद्धान्त नै परिवर्तन गर्ने उद्देश्य राखेको देखिएपछि विपक्षी दलहरूले कार्यदलबाट बाहिरिने निर्णय गरेका हुन्।

‘संविधान संशोधन गर्नेभन्दा पनि राजनीतिक सिद्धान्तहरू नै परिवर्तन गर्ने नियत देखियो। परिमार्जनभन्दा पुनर्लेखन गर्न खोजेको देखियो,’ प्रचण्डले भन्नुभयो।

संविधानको प्रस्तावनादेखि नै पुनर्लेखन गर्न खोजिएको आभास पाएपछि विपक्षी दलहरूले कार्यदल छाडेको उहाँको भनाइ थियो।

रास्वपातर्फ जनताको आकर्षण रोकिएको दाबी

प्रचण्डले निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ ठूलो संख्यामा जनता जाने सम्भावना देखिए पनि अहिले त्यो क्रम रोकिएको दाबी गर्नुभएको छ।

‘जनता रोकिएका छन्। मधेसमा त पश्चाताप नै गरेका छन्,’ उहाँले भन्नुभयो।

रास्वपाभित्र रहेका कतिपय सांसद विगतमा पुराना राजनीतिक दलबाट प्रतिनिधित्व गरेका व्यक्ति रहेको उल्लेख गर्दै प्रचण्डले त्यसलाई सकारात्मक रूपमा लिनुभएको छ।

उहाँले ठट्टाको शैलीमा रास्वपामा माओवादी, एमाले र कांग्रेस पृष्ठभूमिका धेरै व्यक्ति रहेको उल्लेख गर्नुभयो।

‘रास्वपामा हामी माओवादीले पनि २३ जना पठाएका छौँ। एमालेले २७ जना कि कति पठाएको छ, कांग्रेसले ३३ जना पठाएको छ,’ उहाँले भन्नुभयो।

सरकारप्रति प्रचण्डको असन्तुष्टि

प्रचण्डले संविधान निर्माणपछि राजनीतिक दलहरूको ध्यान सरकार बनाउने र गिराउनेतर्फ मात्रै केन्द्रित हुँदा मुलुकको वर्तमान अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो।

संविधान निर्माणपछि प्रधानमन्त्री तथा मन्त्री बन्ने, सरकार गठन गर्ने र सरकार गिराउने विषयमै राजनीतिक दलहरू केन्द्रित भएको उहाँको भनाइ थियो।

उहाँले जनतालाई सुशासन, समृद्धि र न्याय दिने तथा मुलुकमाथि हुनसक्ने बाह्य हस्तक्षेप रोक्न जनतालाई र युवालाई प्रशिक्षित गर्ने विषयमा पर्याप्त ध्यान नपुगेको बताउनुभयो।

‘कम्पास हराएको जहाजजस्तो छ सरकार’

वर्तमान सरकार अपरिपक्व र वैचारिक तथा राजनीतिक रूपमा दिशाविहीन रहेको प्रचण्डको आरोप छ।

उहाँले वर्तमान सरकारलाई समुद्रमा कम्पास हराएको जहाजसँग तुलना गर्नुभयो।

‘सरकार आफैँ अपरिपक्व छ। आफैँ वैचारिक–राजनीतिक दिशाविहीन छ। समुद्रमा कम्पास हराएको जहाजजस्तो भएकाले धेरै जाँदैन,’ प्रचण्डले भन्नुभयो, ‘यही तरिकाले जान सक्दैन। फेरि त्यहाँभित्र अन्तरविरोध पनि देखिएकै छ।’