जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार १७:४८

ज्ञानेन्द्र शाहीको चुनौती– अश्लील भिडियो मेरो भएको पुष्टि भए राजनीतिबाट सन्यास लिन्छु


काठमाडौँ, साउन २५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै शाहीले आफूविरुद्ध लगाइएका आरोपको सत्यतथ्य जाँच गर्न आग्रह गर्नुभएको हो। उहाँले आफू संसद्मा नै अग्निपरीक्षा दिन उभिएको बताउनुभयो।

शाहीले आफूले मदिरा सेवन गर्ने गरेको आरोपसमेत गलत भएको दाबी गर्दै आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गर्नुभयो। संसद्मा स्वास्थ्यकर्मीसहितको टोली रहेको उल्लेख गर्दै उहाँले चिकित्सकको टोलीबाट आफ्नो शरीरका विभिन्न अंग तथा रगत परीक्षण गर्न आग्रह गर्नुभयो।

आफूले जन्मेदेखि अहिलेसम्म मदिराको एक थोपा पनि सेवन नगरेको दाबी गर्दै शाहीले परीक्षणबाट मदिरा सेवन गरेको पुष्टि भए सांसद पदबाट राजीनामा दिन तयार रहेको बताउनुभयो।

उहाँले आफूविरुद्ध भ्रम फैलाउने व्यक्तिको समेत स्वास्थ्य परीक्षण गर्न माग गर्नुभयो।

सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियो प्रयोग गरेर आफ्नो नाम जोडेर प्रचार गरिएको शाहीको दाबी छ। उक्त भिडियो आफ्नो भएको प्रमाणित भए आफू राजनीतिबाटै सन्यास लिन तयार रहेको उहाँले घोषणा गर्नुभयो।

‘सामाजिक सञ्जालमा कतै भेटिएको कुनै अमुक व्यक्तिको अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गरिएको छ। उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट सन्यास लिन्छु,’ उहाँले भन्नुभयो।

आफूविरुद्ध गलत सूचना तथा भ्रम फैलाउने व्यक्तिमाथि कारबाही गर्न शाहीले गृहमन्त्रीसँग मागसमेत गर्नुभएको छ।

उहाँले गलत र भ्रामक सूचनाका कारण इतिहासमा राजनीतिक व्यक्तिले समेत गम्भीर परिणाम भोग्नुपरेको प्रसंग उल्लेख गर्दै आफूविरुद्ध पनि त्यस्तै प्रकारको भ्रम फैलाइएको टिप्पणी गर्नुभयो।