जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार १७:५७

बालेनको कूटनीतिक प्रयोग असफल? भारतीय राजदूतसँग भेटेर बदले अडान


काठमाडौँ, साउन २५ प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेको करिब साढे चार महिनापछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। यससँगै विदेशी राजदूतलाई छुट्टाछुट्टै नभेट्ने प्रधानमन्त्री शाहको यसअघिको अभ्यासमा परिवर्तन आएको छ।

नयाँ प्रधानमन्त्री नियुक्त भएपछि विदेशी राजदूत, विशेषगरी भारत र चीनका राजदूतले प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेट गर्ने परम्परालाई तोड्दै शाहले सुरुवाती चरणमा कुनै पनि राजदूतसँग अलग्गै भेट नगर्ने नीति लिनुभएको थियो।

प्रधानमन्त्री बनेको केही दिनपछि उहाँले नेपालमा रहेका विदेशी राजदूत तथा कूटनीतिज्ञलाई एकैपटक बोलाएर सामूहिक भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्रीको उक्त शैलीलाई त्यतिबेला फरक कूटनीतिक अभ्यासका रूपमा हेरिएको थियो।

यसअघि प्रधानमन्त्री शाहले अमेरिकाबाट नेपाल आएका दुई उच्चस्तरीय अधिकारीसँग समेत भेटवार्ता गर्नुभएको थिएन। दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर गत अप्रिलमा नेपाल आउँदा प्रधानमन्त्रीसँग भेट हुन सकेको थिएन।

त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल आउँदा पनि प्रधानमन्त्रीसँग भेट भएन। प्रधानमन्त्रीको कार्यव्यस्ततालाई भेट नहुनुको कारण बताइएको थियो।

त्यस्तै, भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणका क्रममा पनि प्रधानमन्त्री शाहले भेट नदिने अडान लिनुभएको थियो। त्यसपछि भारतले विदेश सचिवको भ्रमण स्थगित गरेको थियो।

भारतीय राजदूतसँग शिष्टाचार भेट

भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो।

भेटमा प्रधानमन्त्री र भारतीय राजदूत दुवै पक्षका अधिकारी सहभागी थिए। त्यसैले भेटलाई ‘वान टु वान’ भेटका रूपमा लिइएको छैन।

भेटपछि राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग भेट गर्न पाउँदा आफू सम्मानित महसुस गरेको बताउनुभयो। उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना सन्देश व्यक्त गर्दै नेपाल–भारतबीचको बलियो तथा बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको जानकारी दिनुभयो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल–भारत द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो।

पहिलो विदेश भ्रमण भारतबाट हुने चर्चा

भारतीय राजदूतसँग प्रधानमन्त्रीको पहिलो छुट्टै भेट भएपछि प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारतबाट हुनसक्ने चर्चा पनि सुरु भएको छ।

भारतले प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो दिएको बताइए पनि नेपाल सरकारका तर्फबाट यसको औपचारिक पुष्टि भने भएको छैन।

यसअघि नयाँ सरकार गठन भएपछि प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट गर्ने परम्परा रहँदै आएको थियो। यद्यपि प्रधानमन्त्रीनिकट स्रोतका अनुसार भारत भ्रमणबारे अहिलेसम्म कुनै निर्णय भएको छैन।

चिनियाँ राजदूतसँग पनि भेटवार्ता

प्रधानमन्त्री शाहले सोमबार नै चिनियाँ राजदूत झाङ माओमिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटको समय भने सार्वजनिक गरिएको छैन।

भारतीय राजदूतसँग भेटवार्ता गरेपछि चीनसँग पनि समान कूटनीतिक व्यवहार देखाउन चिनियाँ राजदूतसँग भेट तय गरिएको स्रोतको भनाइ छ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार भारतबाट जस्तो दबाब चीनबाट नआए पनि भारतीय राजदूतलाई मात्र छुट्टै भेट्दा प्रश्न उठ्न सक्ने भएकाले दुवै छिमेकीलाई समान महत्व दिएको सन्देश दिन खोजिएको हो।

‘अन्य देशका राजदूतसँग पनि क्रमशः भेट हुन्छ’

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले भारतीय राजदूतसँग भएको भेटलाई शिष्टाचार भेटका रूपमा व्याख्या गर्नुभएको छ।

उहाँका अनुसार प्रधानमन्त्री शाहले आगामी दिनमा अन्य देशका राजदूतसँग पनि आवश्यकताअनुसार क्रमशः भेटवार्ता गर्नुहुनेछ।

‘पारस्परिक हितका विषयमा हाम्रा सबै मित्रराष्ट्रका प्रतिनिधिज्यूहरूसँग प्रधानमन्त्रीज्यूले आवश्यकताअनुसार भेटघाट र कुराकानी गर्नुहुन्छ,’ उहाँले भन्नुभयो।

विदेशी राजदूतसँग छुट्टाछुट्टै नभेट्ने यसअघिको अभ्यासबारे सोधिएको प्रश्नमा दाहालले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण यसअघि भेट हुन नसकेको बताउनुभयो।

उहाँका अनुसार देशभित्रको प्रणालीलाई बलियो बनाएपछि बाह्य विषयमा आवश्यक छलफल गर्न सहज हुने भएकाले प्रधानमन्त्रीले सुरुवाती चरणमा आन्तरिक कामलाई प्राथमिकता दिनुभएको थियो।