जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार २१:२२

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु


बोगोटा, २५ साउन । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। भूकम्पका कारण विभिन्न सहरमा भवन भत्किनुका साथै ठूलो भौतिक क्षति भएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन सहरबीच पर्ने चोको क्षेत्रको सान जोसे डेल पाल्मारमा ८२ किलोमिटर गहिराइमा रहेको थियो।

पेरेरा सहरका मेयर मौरिसियो सालाजारले भूकम्पमा १८ जनाको मृत्यु भएको तथा केही मानिस भत्किएका भवनभित्र पुरिएको जानकारी दिनुभएको छ। काली सहरमा मात्रै कम्तीमा २० वटा भवन भत्किएको र ती भवनमा मानिसहरू च्यापिएको मेयर अलेहान्ड्रो एडरले बताउनुभएको छ।

भूकम्पको धक्का कोलम्बियाका विभिन्न सहरसँगै छिमेकी मुलुक भेनेजुएलासम्म महसुस गरिएको थियो। क्विब्डो, पेरेरा र मनिजालेसलगायतका सहरमा भौतिक क्षति पुगेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भत्किएका भवन तथा मनिजालेसस्थित ऐतिहासिक क्याथेड्रलमा क्षति पुगेको देखिएको छ।

पराकम्पको जोखिमका कारण विभिन्न सहरमा भवन खाली गराइएको छ। भूकम्पपछि देशका ६ वटा विमानस्थलले उडान सेवा बन्द गरेका छन्।

चोको क्षेत्रकी गभर्नर नुपिया क्यारोलिना कोर्डोबा-क्युरीले ठूलो भूकम्प गएको र थप पराकम्पको जोखिम रहेको बताउनुभएको छ। उहाँले क्षेत्रको राजधानी क्विब्डोमा क्षति हुनुका साथै मानिसहरू घाइते भएको जानकारी दिँदै विस्तृत क्षतिको विवरण संकलन भइरहेको बताउनुभएको छ।

नवनियुक्त राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले भूकम्पपछिको उद्धार तथा राहत कार्यको नेतृत्व आफैँले लिएको घोषणा गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रको क्षतिको समन्वय तथा प्रभावितलाई सहयोग गर्न एकीकृत कमाण्ड पोस्ट स्थापना गर्न निर्देशन दिएको बताउनुभएको छ। राष्ट्रपति एस्प्रिएलाले आफू पेरेरा पुगेर प्रभावितको अवस्थाबारे जानकारी लिने बताउनुभएको छ।