जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार २१:२७

लिग–२ को खराब प्रदर्शनपछि रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी


काठमाडौं, साउन २५ नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ। यससँगै रोहित पौडेलको ओडीआई कप्तानी खोसिएको छ।

हालै नेदरल्यान्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि क्यानले रोहितलाई हटाएर सन्दीपलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको हो।

अब सन्दीपको कप्तानीमा नेपालले आगामी अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ।

यस निर्णयसँगै रोहितले ओडीआईसँगै टी–२० टोलीको कप्तानीसमेत गुमाएका छन्। यसअघि नै क्यानले टी–२० टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीलाई दिइसकेको थियो।

सन् २०२२ मा कानुनी विवादका कारण कप्तानी गुमाएका सन्दीप चार वर्षपछि पुनः राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका हुन्।

प्रिमियर कपका लागि नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, डा. इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी।