काठमाडौं साउन २५। गृहमन्त्री सुधन गुरुङले उद्योगमन्त्री गौरी यादवसहित मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ।
सोमबार गृह मन्त्रालयमा भएको छलफलमा मधेस प्रदेशमा पछिल्लो समय देखिएका घटनासहित समसामयिक विषयमा कुराकानी भएको हो। छलफलमा मधेस प्रदेशका विभिन्न राजनीतिक दलका सांसदहरूको सहभागिता थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नितिमा भण्डारीका अनुसार छलफल मुख्यतः मधेसमा पटक–पटक देखिने धार्मिक तथा साम्प्रदायिक तनावको दीर्घकालीन समाधान खोज्ने विषयमा केन्द्रित थियो।
उहाँका अनुसार गृहमन्त्री गुरुङले मधेसमा उत्पन्न हुने तनावलाई दीर्घकालीन रूपमा कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सांसदहरूसँग सुझाव माग्नुभएको थियो।
गृहमन्त्रीले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको सांसद भण्डारीले बताउनुभयो।
छलफलमा सांसदहरूले पछिल्लो समय सुनसरी, सिरहासहित मधेसका केही जिल्लामा भएका घटनालाई नियन्त्रणमा लिने क्रममा प्रहरी तथा स्थानीय प्रशासनबाट भएका कमजोरीबारे पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सांसद भण्डारीका अनुसार भिड नियन्त्रणका क्रममा देखिएका प्रशासनिक कमजोरी सुधार गर्दै आगामी दिनमा प्रभावकारी सुरक्षा रणनीति अपनाउनुपर्ने सुझाव सांसदहरूले दिएका छन्।














प्रतिक्रिया दिनुहोस्