काठमाडौँ, साउन २६ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच भएको सहमतिअनुसार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ।
साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीलाई प्रचलित कानूनबमोजिम तत्काल कारबाही अघि बढाउने सहमतिमा उल्लेख छ।
त्यस्तै, देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियतबारे तत्काल आवश्यक छानबिन सुरु गर्ने सहमति भएको छ।
सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने भएको छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानूनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ।
सरकारले मृतक मेहताको शव नेपाली सेनाको हेलिकप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३, सुनसरी पुर्याउने व्यवस्था गरी दाहसंस्कारको प्रबन्ध गर्ने भएको छ।
त्यसैगरी, घटनामा ज्यान गुमाएका तीन जनाको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा चालु वर्षमै बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।
सहमतिको कार्यान्वयनसँगै घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई राहत र पुनःस्थापनाका विषय अघि बढ्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्