जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार ०७:२८

बाढी–पहिरोले देशभरका राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध


काठमाडौँ, साउन २६ पछिल्ला केही दिनदेखि जारी अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

बीपी राजमार्ग र कान्ति लोकपथमा राति सवारी रोक

बागमती प्रदेशअन्तर्गत बीपी राजमार्ग र कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

काभ्रेपलाञ्चोक खण्डको बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा मकवानपुर खण्डको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत लिपिङ, कोदारी र चारकिलोमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि बाढीका कारण लामो समयदेखि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

मेची राजमार्ग पनि अवरुद्ध

कोशी प्रदेशअन्तर्गत इलामको मेची राजमार्गमा अविरल वर्षाका कारण यातायात प्रभावित भएको छ। झापा–ताप्लेजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

भोजपुरमा भने मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।

गण्डकी र पश्चिमका सडकमा पनि समस्या

गण्डकी प्रदेशको लमजुङस्थित मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङको कालीगण्डकी करिडोर भने अवरोध हटाइएपछि एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरा हुँदै जाने कर्णाली करिडोरअन्तर्गत कालीकोट–हुम्ला सडकखण्ड पनि बाढी र पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ।

अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

लगातार वर्षा भइरहेकाले सडक तथा राजमार्गको अवस्था जुनसुकै बेला परिवर्तन हुनसक्ने प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले यात्रुलाई राजमार्गको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न तथा जोखिमपूर्ण क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।