जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार ०७:३४

दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा अनिश्चितकालीन रोक


इलाम, साउन २६ झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने फाल्गुनन्द मार्गमा आजदेखि भारी मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङका अनुसार ट्रक, टिपर, ट्रेलरलगायत भारी मालवाहक सवारीसाधनलाई अर्को सूचना नभएसम्म सञ्चालनमा रोक लगाइएको हो।

अविरल वर्षाका कारण माङसेबुङ क्षेत्रका विभिन्न स्थानमा सडक क्षतिग्रस्त भएपछि यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ। क्षतिग्रस्त सडकको मर्मत तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको अध्यक्ष नेम्बाङले बताउनुभयो।

उहाँका अनुसार उपभोक्ता समितिको आग्रहमा सडक मर्मतसम्भारको काम सुरक्षित र समयमै सम्पन्न गर्न मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो। अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधन भने सञ्चालनमा रोक नलगाइएको उहाँले स्पष्ट पार्नुभयो।

वर्षाका कारण सडक क्षतिग्रस्त भएपछि दैनिक आवतजावत गर्ने दर्जनौँ मालवाहक सवारीका कारण विभिन्न स्थानमा जाम हुन थालेको थियो। मर्मतसम्भारको काम सम्पन्न नभएसम्म यात्रुवाहक सवारीको आवतजावत सहज बनाउन मालवाहक सवारीमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ।

दमक–चिसोपानी सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन। हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यस सडकमा यात्रा गर्ने नागरिकले लामो समयदेखि सास्ती व्यहोर्दै आएका छन्।

सडक कालोपत्र हुन नसक्दा वर्षायाममा दमकदेखि चिसोपानीसम्मको यात्रा थप कठिन हुने गरेको छ। झापा र इलामलाई जोड्ने यस सडकबाट झापा, इलाम र पाँचथरका हजारौँ नागरिक आवतजावत गर्नुका साथै कृषि उत्पादन बजारसम्म लैजाने गरिएको छ।

सडक निर्माणमा भइरहेको ढिलाइप्रति स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन्।