जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार ०७:४५

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि, समसामयिक विषयमा छलफल जारी


काठमाडौँ, साउन २६ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफललाई निरन्तरता दिइने भएको छ।

सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्दै आएका छन्। सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए।

बैठकमा खाना पकाउने ग्यासको सहज आपूर्ति, रासायनिक मलको उपलब्धता, किसानका उत्पादनको बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण तथा ऊर्जा नीतिलगायत विषयमा छलफल भएको कांग्रेसले जनाएको छ।

मंगलबारको बैठकमा पनि यी विषयसहित मुलुकको समसामयिक राजनीतिक तथा आर्थिक अवस्थाबारे केन्द्रीय सदस्यहरूले धारणा राख्ने बताइएको छ।