जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार ०८:२२

धनुषा प्रहरीद्वारा ८१ लाखभन्दा बढीको अवैध सामान बरामद


जनकपुरधाम, साउन २७ धनुषा प्रहरीले भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत पछिल्लो २६ दिनमा ८१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साउन १ देखि २६ गतेसम्म विभिन्न स्थानबाट ८१ लाख ७ हजार ७ सय ८६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो। प्रहरीले यस क्रममा पाँच जनालाई पक्राउ गरेको जनाएको छ।

यस्तै, प्रहरीले लागुऔषधसहित २४ जनालाई पक्राउ गरी १९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको छ। पक्राउ परेकाहरूबाट ३४ किलो गाँजा, १८५ दशमलव ८२ ग्राम खैरो हेरोइन, २४३ थान नाइट्रोजेपाम, पाँच थान स्पास्मोरेटल, १४ थान एन्टिकफ ट्याब्लेट र नौ थान कोलिबेन बरामद गरिएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो।

त्यसैगरी, प्रहरीले हातहतियारसम्बन्धी एक मुद्दा दर्ता गरी तीन जनालाई पक्राउ गरेको छ। उनीहरूबाट एक थान पेस्तोल, एक थान म्यागजिन तथा विभिन्न किसिमका दुई राउन्ड गोलीसहित पाँच थान हातहतियारजन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले फैसला कार्यान्वयन अभियानलाई समेत तीव्रता दिएको जनाएको छ। साउन १ देखि २६ गतेसम्म विभिन्न अदालतबाट जारी ४१० वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएको छ।

यस अवधिमा अदालतबाट फैसला भएका व्यक्तिहरूलाई कारबाही गर्दै १५८ वर्ष ८ महिना ७ दिन कैद सजाय कार्यान्वयन गरिएको तथा ६३ लाख ७७ हजार २ सय ६१ रुपैयाँ जरिबाना असुल गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो।