जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार ०७:५९

स्ट्रेट अफ होर्मुजमा तनाव बढ्यो, पानामाको कार्गो जहाजमा अमेरिकाको मिसाइल प्रहार


काठमाडौं, साउन २७ इरानमाथि जारी अमेरिकी–इजरायली सैन्य कारबाहीबीच स्ट्रेट अफ होर्मुजमा तनाव थप बढेको छ। अमेरिकाले इरानी नाकाबन्दी तोडेर इरानी बन्दरगाहतर्फ अघि बढेको पानामाको कार्गो जहाजमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

अमेरिकी सेनाका अनुसार चेतावनी दिँदासमेत जहाजले निर्देशन नमानेपछि त्यसको स्टेयरिङ प्रणालीमा दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरिएको थियो। त्यसपछि जहाजलाई अघि बढ्नबाट रोकिएको सेनाले जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार इरानको नाकाबन्दी तोडेर अघि बढेका ५५ वटा व्यावसायिक जहाजलाई अहिलेसम्म मार्ग परिवर्तन गर्न लगाइएको छ। त्यस्तै, तीनवटा जहाजलाई निष्क्रिय पारिएको र दुईवटा जहाजमा अमेरिकी सैनिक प्रवेश गरी नियन्त्रणमा लिइएको सेन्टकमले जनाएको छ।

स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण तेल तथा व्यापारिक जलमार्गमध्ये एक हो। इरानले अमेरिकी सैन्य कारबाही र नाकाबन्दीको विरोधमा यस जलमार्गबाट हुने जहाज आवतजावत रोक्दै आएको छ।

इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्नुअघि अमेरिकाले युद्ध तथा नाकाबन्दी अन्त्य गर्नुपर्ने माग गरेको छ। साथै, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने र क्षेत्रमा युद्धविराम लागू गर्नुपर्ने उसको माग छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले यी माग पूरा नभएसम्म स्ट्रेट अफ होर्मुज बन्द रहने बताउनुभएको छ।

यसैबीच, कतारले ओमान र इरानबीच स्ट्रेट अफ होर्मुजबाट व्यावसायिक जहाजको आवतजावत पुनः सुरु गर्ने विषयमा भइरहेको वार्ता महत्वपूर्ण चरणमा पुगेको जनाएको छ।

पूर्व अमेरिकी वरिष्ठ कूटनीतिज्ञ एलन एरकाका अनुसार इरान र ओमानले ६० दिनका लागि अस्थायी रूपमा जहाज आवतजावत व्यवस्थापन गर्ने योजनामा सहमति गरेका छन्। योजनाअनुसार जहाजहरू इरानी नियन्त्रणमा छुट्टाछुट्टै मार्गबाट आवतजावत गर्नेछन्। यद्यपि, योजना कार्यान्वयनका लागि अमेरिकाको सहमति आवश्यक रहेको उहाँले बताउनुभएको छ।

यसैबीच, पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी मध्यस्थताका लागि तेहरान पुग्नुभएको छ। उहाँले इरानी राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गर्नुभएको छ। पाकिस्तानले अमेरिका–इरान युद्ध रोक्न तथा स्ट्रेट अफ होर्मुजबाट अन्तर्राष्ट्रिय जहाजको आवतजावत पुनः सुरु गराउन मध्यस्थता गरिरहेको छ।

उता, यमनका हुथी विद्रोहीले बाब अल–मन्देब जलडमरूमध्यमा सैन्य सामग्री बोकेको साउदी जहाजलाई लक्षित गरेको दाबी गरेका छन्। हुथी विद्रोहीको समाचार संस्था साबाकाअनुसार आक्रमणमा एउटा व्यावसायिक जहाजमा सवार ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन्।

होर्मुजसँगै बाब अल–मन्देबमा समेत तनाव बढेपछि मध्यपूर्वको समुद्री व्यापार तथा विश्वव्यापी आपूर्ति प्रणालीमा थप दबाब परेको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघले कब्जामा रहेको पश्चिम किनाराको अवस्था गम्भीर बन्दै गएको चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका उपविशेष संयोजक रामिज अलअकरबका अनुसार यस वर्ष अहिलेसम्म पश्चिम किनारामा ७६ प्यालेस्टिनीको मृत्यु भएको छ। मृतकमध्ये १८ जना बालबालिका रहेका छन्।

यता, इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्नै सैन्य गतिविधिलाई लक्षित गर्दै गल्तीवश इन्टरसेप्टर प्रक्षेपण गरेको जनाएको छ। पछि उक्त लक्ष्य आफ्नै सेनाको गतिविधि भएको पहिचान गरिएको सेनाले बताएको छ। घटनामा कोही घाइते नभएको र कुनै साइरन पनि नबजेको इजरायली सेनाको भनाइ छ।