जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार १९:४९

श्रीमतीलाई आगो लगाएर हत्या प्रयास गरेको आरोपमा श्रीमान पक्राउ


काठमाडौं, साउन २७ सुर्खेतमा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

भेरीगंगा नगरपालिका–१३ रामघाटका ४९ वर्षीय जयबहादुर रानाले ५० वर्षीया श्रीमती महेश्वरी रानाको शरीरमा आगो लगाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मंगलबार बेलुकी भएको घटनामा महेश्वरीकी १८ वर्षीया छोरी पुष्पाले तत्काल आगो निभाएर उहाँलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याउनुभएको थियो। त्यसपछि थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल हुँदै भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।

महेश्वरीको अनुहार, घाँटीसहित शरीरको करिब ३६ प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीका प्रवक्ता डीएसपी कविन्द्रसिंह बोहराले जानकारी दिनुभएको छ।