जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ०७:५०

युरोपमा तीन दशकपछि दुर्लभ पूर्ण सूर्यग्रहण, केही मिनेट छायो अँध्यारो


काठमाडौं, साउन २८ । स्पेनको उत्तरी क्षेत्रमा बुधबार दुर्लभ पूर्ण सूर्यग्रहण देखिएको छ । ग्रहणका कारण केही समय दिनमै अँध्यारो छाएको थियो ।

स्पेनको बुइट्रागो दे लोजोयालगायत क्षेत्रमा ठूलो संख्यामा मानिसहरू भेला भएर सुरक्षात्मक चस्मामार्फत सूर्यग्रहणको अवलोकन गरेका थिए । पूर्ण ग्रहणको अवस्था करिब एक मिनेट मात्र देखिएको बताइएको छ ।

आइसल्यान्डको राजधानी रेक्याविकमा भने बादलका कारण सूर्यग्रहण स्पष्ट रूपमा देखिएन । यद्यपि पूर्ण ग्रहणका कारण परेको अँध्यारो भने महसुस गरिएको थियो ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर सूर्यको प्रकाश छेक्दा पूर्ण सूर्यग्रहण हुने गर्छ । यस क्रममा दिनको समयमा केही समय अँध्यारो हुने तथा केही जनावरको व्यवहारमा समेत परिवर्तन देखिने वैज्ञानिकहरू बताउँछन् ।

स्पेनले सूर्यग्रहणलाई पर्यटन प्रवर्द्धनको अवसरका रूपमा समेत उपयोग गरेको थियो । ग्रहण अवलोकनका लागि ग्रामीण क्षेत्रमा विशेष केन्द्र स्थापना गर्नुका साथै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

ग्रहणका बेला भीडभाडका कारण आगलागीको जोखिम बढ्न सक्ने भन्दै अधिकारीहरूले विशेष सुरक्षा सतर्कता अपनाएका थिए । सँगसँगै दक्षिणी आन्दालुसिया क्षेत्रमा डढेलो नियन्त्रणका लागि उद्धार टोली परिचालन भइरहेका थिए ।