रामेछाप, साउन २९ । गाउँघरमा खेती गर्ने जनशक्ति घट्दै जाँदा रामेछापका धेरै खेतीयोग्य जमिन बाझिँदै गएका छन् । रोजगारीका लागि युवा बिदेसिने र सहर पस्ने क्रम बढेसँगै परम्परागत खेती प्रणाली कमजोर बन्दै गएको छ । त्यसको प्रत्यक्ष असर रैथाने बालीको उत्पादनमा परेको छ ।
उन्नत तथा हाइब्रिड जातका बालीतर्फ किसानको आकर्षण बढिरहेका बेला स्थानीय रैथाने बाली संरक्षणको चुनौती पनि थपिएको छ । यद्यपि, स्वास्थ्य र पोषणका दृष्टिले महत्त्वपूर्ण मानिने कोदो खेतीलाई रामेछापका किसानले अझै निरन्तरता दिँदै आउनुभएको छ ।
कुनै समय ‘गरिबले खाने बाली’ भनेर हेपिने कोदो अहिले पौष्टिक खाद्यान्नका रूपमा स्थापित हुँदै गएको छ । कोदोमा पाइने पोषण तत्त्वका कारण यसको माग बढ्दै गएको अवस्थामा किसानले यसलाई परम्परागत बालीका रूपमा मात्र नभई आम्दानीको सम्भावना बोकेको व्यावसायिक बालीका रूपमा लिन सक्ने अवस्था बनेको छ ।
कृषि क्षेत्रका जानकार तथा किसानहरूका अनुसार कोदोको उत्पादन बढाउन सके स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिन्छ । कोदोबाट रोटी र ढिँडो मात्र नभई बिस्कुट, केक, पाउरोटी, सेल, चाउमिनलगायत विभिन्न परिकार उत्पादन गर्न सकिन्छ । यसबाट कोदोको बजार विस्तारसँगै किसानले उत्पादनको राम्रो मूल्य पाउने सम्भावना रहन्छ ।

मन्थली नगरपालिका–२ का वडा सदस्य तथा कृषि कर्ममा सक्रिय बालाकाजी श्रेष्ठ लगानीअनुसार आम्दानी नहुँदा कतिपय किसानले जमिन बाँझो छाड्न थालेको बताउनुहुन्छ । परम्परागत खेतीबाट कहिलेकाहीँ आफूले लगाएको श्रमको लागतसमेत उठाउन कठिन हुने उहाँको अनुभव छ । तर, कोदोको उत्पादन, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्न सके किसानका लागि यो आकर्षक आम्दानीको स्रोत बन्न सक्ने उहाँ बताउनुहुन्छ ।
‘परम्परागत रूपमा मात्र कोदो खेती गर्दा किसानलाई आकर्षित गर्न कठिन हुन्छ । कोदोलाई उद्योग र बजारसँग जोड्न सकियो भने यसको मूल्य बढ्छ र किसानले पनि राम्रो आम्दानी गर्न सक्नुहुन्छ,’ श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार कोदोबाट उत्पादन हुने स्थानीय मदिरालाई कानुनी मापदण्डअनुसार ब्रान्डिङ गर्नेदेखि कोदोका विभिन्न परिकार उत्पादन गर्ने उद्योग सञ्चालनसम्मका कार्यक्रम अघि बढाउन आवश्यक छ । स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर होटेल तथा रेस्टुरेन्टमा कोदोका परिकारलाई प्राथमिकता दिन सके बजार थप विस्तार हुन सक्ने उहाँको भनाइ छ ।
कोदो खेतीमा किसानलाई आकर्षित गर्न सरकारले पनि उत्पादनमा अनुदान, उन्नत बीउ, प्राविधिक सहयोग, कृषि उपकरण तथा बजारको सुनिश्चितताजस्ता कार्यक्रम ल्याउनुपर्ने उहाँ बताउनुहुन्छ ।

‘नेपालमा रोजगारी छैन भनेर विदेश जानुपर्ने बाध्यता मात्र छैन । आफ्नै गाउँको बाँझो जमिनमा आधुनिक तरिकाले खेती गर्न सके यसबाट पनि रोजगारी र आम्दानी सिर्जना गर्न सकिन्छ,’ श्रेष्ठले भन्नुभयो ।
जलवायु परिवर्तनका कारण अन्य बालीमा चुनौती बढिरहेका बेला स्थानीय वातावरणसँग अनुकूलित रैथाने बालीको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले कोदोलाई केवल पुरानो बालीका रूपमा हेर्नुभन्दा स्वास्थ्य, पोषण, रोजगारी र आम्दानीसँग जोडिएको सम्भावनायुक्त बालीका रूपमा विकास गर्न आवश्यक देखिएको छ ।
रामेछापका बाझिँदै गएका खेतमा कोदो पुनः विस्तार गर्न सके रैथाने बालीको संरक्षण मात्र नभई स्थानीय किसानको आम्दानी बढाउन, रोजगारी सिर्जना गर्न र गाउँको कृषि अर्थतन्त्रलाई चलायमान बनाउनसमेत सहयोग पुग्ने देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्