जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ११:२६

मिटरब्याज तथा ठगी मुद्दामा गोपाल साहसहित तीनजना पुर्पक्षका लागि थुनामा


जनकपुरधाम, साउन २९ अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका गोपाल साहसहित तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

अदालतको आदेशपछि जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उहाँकी भाइ बुहारी ४८ वर्षीया रेखा साह र रेखाका छोरा ३२ वर्षीय हरेराम साह पुर्पक्षका लागि थुनामा गएका छन् । गोपाल साहका भाइ बलराम साह भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत साउन १ गते गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित सीमा नाकाबाट र हरेरामलाई काठमाडौंँबाट पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मधुसूदन न्यौपानेका अनुसार बिदेह नगरपालिका–८ बफैँका निवासी पूर्वएसएसपी गोविन्दकुमार साहसहितको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको थियो ।

प्रहरीका अनुसार गोविन्दकुमार साहले व्यापार–व्यवसाय सञ्चालनका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धक राखी कपाली तमसुकमार्फत ९९ लाख रुपैयाँ ऋण लिनुभएको थियो । तर, दृष्टिबन्धकका रूपमा रजिस्ट्रेसन गरिएको जग्गा जग्गाधनीलाई जानकारी नै नदिई गोपाल साहसहितले बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ऋण लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले गोपाल साहको जनकपुरधामस्थित घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता प्रमाणपत्र, एउटा ल्यापटप तथा विभिन्न छाप र नक्सासमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध धनुषा जिल्ला अदालतमा अनुचित लेनदेन तथा ठगीसम्बन्धी नौवटा मुद्दा दर्ता भएका थिए । तीमध्ये अदालतले हालसम्म छ वटा मुद्दामा सुनुवाइ गरेको छ ।

थुनछेक बहसका क्रममा लगातार दुई दिन अबेर रातिसम्म बहस भएको थियो । बहसपछि अदालतले गोविन्दकुमार साहको जाहेरीसँग सम्बन्धित मुद्दामा गोपाल साह, रेखा साह र हरेराम साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

बाँकी पाँचवटा मुद्दामा भने अदालतले उनीहरूबाट जनही एक–एक लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ ।

यसअघि लामो समयदेखि फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । उनीहरूमाथिका बाँकी तीनवटा मुद्दामा भने आज थुनछेक बहस हुने भएको छ ।