जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार ०८:३२

मिथिलामा झुलनोत्सवको रौनक, झुलागीतसँगै विष्णु–लक्ष्मीको उपासना


महोत्तरी, साउन ३१ । साउन शुक्ल तृतीयासँगै मिथिलाका महोत्तरीसहितका क्षेत्रमा झुलनोत्सव सुरु भएको छ । पर्व सुरु भएसँगै रामसीता र राधाकृष्णका प्रतिमालाई कलात्मक झुलामा राखेर भक्तिगीत गाउँदै झुलाउने परम्पराले मठमन्दिरमा रौनक बढेको छ ।

हिन्दू परम्परामा भगवान् विष्णु र भगवती लक्ष्मीको उपासना गरिने यस पर्वमा उहाँहरूका अवतार मानिने रामसीता तथा राधाकृष्णका प्रतिमालाई विशेष झुलामा राखेर भक्तजनले गीत गाउँदै झुलाउने गर्दछन् । साउन पूर्णिमाका दिन समापन हुने झुलनोत्सव मिथिलाको विशिष्ट सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाइँदै आएको छ ।

पर्व सुरु भएसँगै महोत्तरीका रामजानकी, लक्ष्मीनारायण तथा राधाकृष्ण मन्दिर र वैष्णव मठहरूमा भक्तजनको चहलपहल बढेको छ । साधुसन्त तथा सर्वसाधारण भेला भएर झुलागीत, मलार र कजरी गीत गाउँदै झुला झुलाउने गरेका छन् ।

मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार बालरूपका भगवान् र भगवतीलाई झुलनामा झुलाउने परम्परासँग यो पर्व जोडिएको छ । उहाँका अनुसार श्रीरामकी माता कौशल्या र श्रीकृष्णकी माता यशोदाले बालरूपमा भगवान्लाई कोक्रामा हल्लाउनुभएको स्मरणमा झुलनोत्सव मनाउने गरिएको हो ।

झुलनोत्सव घरघरमा भन्दा मठमन्दिरमा सामूहिक रूपमा मनाउने परम्परा छ । पर्वका अवसरमा शनिबार साँझ मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बाजागाजासहित झुलाघरमा पुर्‍याएर पर्वको सुरुआत गरिएको छ ।

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ तथा मन्दिर र जनकपुरस्थित जानकी मन्दिरको झुलनोत्सव विशेष प्रसिद्ध मानिन्छ । यसैगरी जलेश्वर–१ र बर्दिबास–१४ स्थित रामजानकी कुटीलगायतका स्थानमा पनि झुला महोत्सव आयोजना गरिन्छ ।

मिथिलामा प्रचलित मान्यताअनुसार यो पर्व रामको जन्मभूमि अयोध्या र कृष्णको बाललीलास्थल वृन्दावनको परम्पराबाट प्रभावित हुँदै आएको विश्वास गरिन्छ । जनकपुरधाम सीताको माइती भएकाले ज्वाइँलाई प्रसन्न गराउने मैथिल परम्परासँग पनि झुलनोत्सव जोडिएको बताइन्छ ।

मिथिला परम्पराअनुसार साउन शुक्ल तृतीयाका दिन जनकपुरस्थित मणिपर्वतको पूजा गरेर झुला पर्व सुरु गर्ने चलनसमेत छ । मटिहानीमा भने छुट्टै झुलाघर निर्माण गरिएको छ, जहाँ विभिन्न मठमन्दिरबाट ल्याइएका प्रतिमालाई झुलाउने गरिन्छ ।

पर्वभरि मठमन्दिरमा भक्तिगीत, भजनकीर्तन र सांस्कृतिक गतिविधि हुने गरेका छन् । साउन पूर्णिमाका दिन झुलनाको डोरी चुडाएर विष्णु–लक्ष्मीका प्रतिमालाई झुलाबाट उतारिएसँगै झुलनोत्सव समापन गर्ने मैथिल परम्परा रहेको छ ।