जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार ०८:२६

ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि टिपरमा तोडफोड


झापा, साउन ३१ । झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि स्थानीयले टिपरमा तोडफोड गरेका छन्।

झापा गाउँपालिका–४ स्थित हुलाकी राजमार्गमा शनिबार साँझ बालुवा बोकेको ना.५ ख ६४९० नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय ६५ वर्षीय सशन लाल गणेशको मृत्यु भएको हो।

साइकलमा सडक पार गर्दै गरेका गणेशलाई तीव्र गतिमा रहेको टिपरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। उपचारका क्रममा गणेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनापछि टिपर चालक सोही ठाउँका फागुलाल राजवंशीलाई इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।