रामेछाप, साउन ३१ । कुनै समय गाउँका अधिकांश युवाको एउटै सपना हुन्थ्यो-विदेश जाने, पैसा कमाउने र जीवन बदल्ने। ६० र ७० को दशकमा चलेको वैदेशिक रोजगारीको लहरले गाउँका धेरै युवा बिदेसिए।
गाउँका खेतबारी बाझिँदै गए, गोठ रित्तिँदै गए। तर यही लहरका बीच रामेछाप नगरपालिका–८ बाबियाखर्कका ईश्वर घिमिरेले भने फरक बाटो रोज्नुभयो-विदेश होइन, आफ्नै माटो। गाउँमै कुखुरा पालन गर्दै आउनु भएका ईश्वरले सोचेअनुसार आम्दानी हुन नसकेपछि गाउँ छाड्ने विचार गर्नुभयो। तर विदेश जाने सोच उहाँको मनले मानेन। अन्ततः २०७२ साल पुसमा उहाँ जिल्ला सदरमुकाम मन्थली झर्नुभयो। मन्थलीको कुडहरमा केही जमिन भाडामा लिएर दुईवटा गाईबाट नयाँ यात्रा सुरु गर्नुभयो।

दुई गाईबाट सुरु भएको त्यो यात्रा आज एउटा सफल कृषि उद्यममा परिणत भएको छ। गाईपालनबाट ईश्वरले दूध बिक्री गर्न थाल्नुभयो । गाईबाट दूध मात्र होइन, मल पनि उत्पादन भयो। त्यसलाई सदुपयोग गर्दै उहाँले तरकारी खेती सुरु गर्नुभयो। गाउँमा गर्दै आएको लेयर्स कुखुरापालनलाई पनि निरन्तरता दिनुभयो। यसरी एउटा कामलाई अर्को कामसँग जोड्दै उहाँले कृषि कर्मलाई आफ्नो आम्दानीको बलियो आधार बनाउनुभयो ।
उहाँको जीवनले एउटा सरल तर गहिरो सन्देश दिन्छ-मिहिनेत गर्ने हात, जाँगर र निरन्तरता हुने हो भने समृद्धिको बाटो विदेशमा मात्र हुँदैन, आफ्नै माटोमा पनि हुन्छ।
सुरुमा किनेका दुई गाईका सन्तान थपिँदै गए। गोठ विस्तार हुँदै गयो। उत्पादन बढ्दै गयो। अहिले उहाँको गोठमा १० वटा माउ गाई र तीन वटा बाच्छी छन्। केही गाई बिक्रीसमेत गरिसक्नु भएको छ । ‘माउ र बाच्छी गरेर १३ वटा छन्, पहिलाजस्तो दूधको भाउ त छैन, तर राम्रै छ,’ ईश्वरले भन्नुभयो ।
अहिले उहाँका पाँचवटा गाई दुहुना छन् भने पाँचवटा ब्याउने अवस्थामा छन्। तीमध्ये तीनवटा यही महिनामा ब्याउने तयारीमा छन्। गोठका दुधालु गाईले दैनिक १५ देखि २५ लिटरसम्म दूध दिन्छन्। उत्पादित दूध बजारमा बिक्री हुन्छ।

ईश्वरको दिन सूर्योदयसँगै सुरु हुन्छ। बिहानै श्रीमतीसँगै गोठमा पुग्नुहुन्छ। दम्पती मिलेर गाईलाई घाँस–कुँडो गर्छन्, गोठ सफा गर्छन् र दूध दुहुन्छन्। दूध खन्याएपछि ईश्वर मोटरसाइकलमा दूध लिएर बजारतिर लाग्नुहुन्छ। श्रीमती घरायसी काममा व्यस्त हुनुहुन्छ ।
दिउँसोको समय भने तरकारी खेती लागि छुट्याइएको छ। गाई, तरकारी र कुखुरा-यी तीनवटै कामलाई सँगसँगै अघि बढाउँदै आएको यो दम्पतीको दिनचर्या श्रम, लगन र आत्मनिर्भरताको उदाहरण बनेको छ।
दुई छोराका बाबुआमा ईश्वर दम्पती अहिले आफ्नै पौरखमा रमाइरहेका छन्। छोराहरू बोर्डिङ स्कुलमा पढ्छन्, आम-बाबु कृषि कर्ममा रमाउँछन् । विदेश गएर कमाउन सकिने पैसा आफ्नै ठाउँमा बसेर कमाउन सकिन्छ भन्ने प्रमाण उहाँहरूले आफ्नो कर्मबाट प्रमाणित गर्नु भएको छ । त्यसमाथि स्थानीय उपभोक्तालाई शुद्ध दूध र कृषि उत्पादन उपलब्ध गराउँदै आउनु भएको छ।

ईश्वरको कथा केवल दुई गाईबाट १३ गाईसम्म पुगेको कथा होइन। यो अवसर खोज्न विदेश जानै पर्छ भन्ने सोचलाई आफ्नै कर्मले चुनौती दिएको कथा हो। उहाँको जीवनले एउटा सरल तर गहिरो सन्देश दिन्छ-मिहिनेत गर्ने हात, जाँगर र निरन्तरता हुने हो भने समृद्धिको बाटो विदेशमा मात्र हुँदैन, आफ्नै माटोमा पनि हुन्छ।
आज ईश्वरको गोठमा गाईको सङ्ख्या बढेको छ, खेतमा तरकारी फलेको छ र बजारमा उहाँको उत्पादन पुगेको छ। हिजो गाउँ छाड्ने सोच बनाउनु भएका ईश्वर आज आफ्नै ठाउँमा बसेर अरूलाई पनि एउटा प्रेरणा दिइरहनु भएको छ- ‘काम गर्नेलाई विदेश जानै पर्छ भन्ने छैन।’













प्रतिक्रिया दिनुहोस्