जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार ०८:२१

इन्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ४७ पुग्यो


काठमाडौं, साउन ३१ । इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ।

भूकम्पका कारण सयौँ भवनमा क्षति पुगेको छ। उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार गरिरहेको बीबीसीले जनाएको छ।

इन्डोनेसियाको मौसम तथा भूभौतिकी निकायका अनुसार स्थानीय समयअनुसार बिहान ५ बज्नुअघि गएको भूकम्पको केन्द्र जमिनको सतहबाट १५ किलोमिटर गहिराइमा थियो। भूकम्पपछि दर्जनौँ परकम्पसमेत गएका छन्।

सबैभन्दा बढी प्रभावित मङ्गराई क्षेत्रमा २४ जनाको मृत्यु भएको छ। पूर्वी मङ्गराईमा १७, सिक्कामा तीन तथा नगाडा, एन्डे र पश्चिम मङ्गराईमा कम्तीमा एक–एक जनाको मृत्यु भएको विपद् व्यवस्थापन निकायले जनाएको छ।

भूकम्पमा परी १३ जना घाइते भएका छन्। प्रारम्भिक विवरणअनुसार १५० भन्दा बढी घरमा क्षति पुगेको छ। विद्यालय, स्वास्थ्य संस्था, धार्मिकस्थल, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनासमेत क्षतिग्रस्त भएका छन्।

पहाडी तथा दुर्गम क्षेत्रमा पहिरोका कारण केही गाउँसम्म पुग्ने बाटो अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने अधिकारीहरूले बताएका छन्।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएपछि करिब दुई हजार मानिस सुरक्षित स्थानतर्फ सरेका छन्।

यसैबीच, इन्डोनेसियाको अर्को क्षेत्रमा ६.९ म्याग्निच्युडको अर्को भूकम्प गएको खबरले उद्धार तथा राहत कार्य थप चुनौतीपूर्ण बनेको छ। तीन प्रमुख टेक्टोनिक प्लेटको संगम क्षेत्रमा पर्ने इन्डोनेसिया भूकम्प तथा ज्वालामुखी गतिविधिका लागि संवेदनशील देश मानिन्छ।