जनता टाइम्स

८ पुष २०७६, मंगलवार १७:०६

डिस्को जाने चार खेलाडीको सजाय घट्यो, यस्तो छ कारण


काठमाडौं, पुष ८

निलम्बनमा परेका चार राष्ट्रिय खेलाडीको सजाय कम भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नाइट क्लब काण्डमा परेका राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू विमल घर्तीमतगरसहित चारै खेलाडीको सजाय घटाएको हो ।

एन्फाले उनिहरुको सजाय मिति पनि पहिलेको भन्दा अगाडी सारेको छ । एन्फाको अनुशासन समितिले उनीहरूलाई निलम्बनसम्बन्धी निर्णय लागू हुने मिति परिवर्तन गरिदिएको छ । चारै खेलाडीले कारबाहीको अवधिबारे छुट्टाछुट्टै अपिल गरेका थिए ।

एन्फाले यसअघि १३ डिसेम्बर २०१९ देखि विमल घर्तीमगर र डिफेन्डर दिनेश राजवंशीलाई तीन महिनाको निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ भने ४५ दिन निलम्बनमा परेका थिए । तर खेलाडीको अपिलपछि एन्फाले उनीहरूको निलम्बन नाइट क्लबमा गएको दिनदेखि गणना गर्ने निर्णय गरेको हो । अब खेलाडीहरूको निलम्बन अवधि १६ नोभेम्बर २०१९ बाट गणना हुनेछ ।

नयाँ निर्णयसँगै चारै खेलाडीले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने भएका छन् । नयाँ निर्णयपछि विमल र दिनेशले लिगका अन्तिम चार खेल खेल्न पाउने भएका छन् । अञ्जन र सन्तोषले सुरूआती चार खेल गुमाउनेछन् । उनीहरू आबद्ध क्लबहरूले दुई÷दुई खेल खेलिसकेका छन् ।

फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरूद्धको खेलअघि चार फुटबलर नाइट क्लबमा गएर मदिरा सेवन गरेको पाइएपछि एन्फाले तत्काल राष्ट्रिय टिमबाट हटाएको थियो । चारै जना कुवेतविरूद्धको खेलका लागि भुटान उड्ने अघिल्लो दिन ठमेलका विभिन्न क्लबमा गएका थिए ।