जनता टाइम्स

८ पुष २०७६, मंगलवार २०:११

देखिन थाल्यो सरकारको कामको परिणाम : समयभन्दा सात महिनाअगावै बन्यो ग्वार खोलामा पक्की पुल


नारायणी रजौरे दाङ । तुलसीपुर उपमहानरपालिका–६ गोरौराका ७० वर्षीय विष्णुप्रसाद भट्टराई घरदेखि झण्डै साढे ६ किलोमिटर टाढा रहेको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वार खोलामा निर्माण गरिएको पक्की पुलको सोमबार अवलोकन गर्दै गरेको भेटिनुभयो । उहाँ निकै खुशी हँुदै पुल हेर्न त्यहाँ भेटिएका पुगेकाहरुसँग कुरा गर्दै हुनुहुन्थ्यो, ‘म त यो पुल यतिछिटो निर्माण भइसकेको देख्दा दङ्ग भएँ, यसरी नै अन्य क्षेत्रमा विकासका काम छिटोछरितो सम्पन्न भए कति नागरिकहरुले सेवा पाउने थिए ।’

तोकिएको समयभन्दा अगाडि नै पुल निर्माण गरेर सुरक्षित यात्रा गर्न सहयोग पुर्याउने निर्माण कम्पनीलाई राज्यले पुरस्कृत र ढिलासुस्ती गर्नेलाई कारवाही गर्नसके यहाँका अन्य खोलामा अलपत्र परेका पुल निर्माण हुने उहाँको भनाइ थियो । उहाँले पुल हेर्न पुगेका सर्वसाधारणसँगै भन्दै हुनुहुन्थ्यो, ‘दुई वर्ष पहिले घोराहीबाट तुलसीपुर फर्कने क्रममा म सवार यात्रुवाहक बसलाई यही खोलामा आएको बाढीले बगायो । प्रहरी तथा स्थानीयवासीले २ सय मिटर टाढा बगेर पुगेका हामीहरुलाई उद्धार गरे, एक जना यात्रुलाई खोलाले बगाएर लग्यो उनको खोजी तथा उद्धार अबेर रातिसम्म गरियो, कहीँ फेला परेनन, त्यसको तीन दिनपछि शव टाढाको खेतमा भेटियो ।’ अहिले पनि त्यो घटना सम्झँदा मन झसङ्ग हुने उहाँले बताउनुभयो । त्यसैले पनि अहिले यहाँ निर्माण सम्पन्न भएको पक्की पुल हेर्न आएको उहाँको भनाइ थियो ।

त्यस्तै पुलपारि घर भएकी तुलसीपुर उपमहानगरपालिका–७ की ५५ वर्षीया रुपकली कँडेलले पनि ग्वार खोला पुल समयमै निर्माण भएकाले आफू निकै खुशी भएको बताउनुभयो । उहाँका अनुसार घरनजिकै खोला भएकाले वर्षाद्को समयमा नागरिकहरुले भोगेका पीडा दिनहुँ देख्नुपर्दथ्यो । ‘कतिपय यात्रुहरु खोला वारपार गर्न नसकेपछि रातभरि बाटोमा बसेका हुन्थे । कतिको ज्यान गयो, कतिपय मोटरसाइकलका यात्रुलाई त घरमा नै बास बस्न दिएकी थिएँ । खोलामा पानीको सतह घटेपछि सुरक्षित यात्रा गराएर पठाएको मानसपटलमा ताजै छ,’ उहाँले भन्नुभयो ।

तुलसीपुर–घोराही सडकखण्ड हँुदै काठमाडौंसम्मको गाडी चलाउँदै आएका बस चालक केशव भण्डारीले ग्वार खोलमा यति छिटो पुल निर्माण सम्झौताभन्दा ६ महिना अगाडि सम्पन्न हुन्छ भने अरू खोलामा किन हँुदैन भन्दै अब यसको नागरिकस्तरबाट पनि खोजी गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘लामो दूरीबाट गाडी चलाएर आउँदा खोलाले रोक्छ कि यात्रुलाई कसरी समयमा गन्तव्यमा पुर्याउने भन्ने तनाव लिनु पर्दथ्यो, कतिपय अवस्थामा बाढी आएपछि घण्टौँघण्टा खोला छेउमा बस्नुपथ्र्यो, कतियप अवस्थामा मन ठूलो पारेर बस बाढी आएको बेला चलाउनुपर्ने बाध्यता हुन्थ्यो, अब भने हट्ने भयो, खुशी छु ।’

समयअगावै पुल बनेकामा यहाँका धेरै नागरिक तथा विभिन्न पेशा क्षेत्रमा रहेकाले खुशी प्रकट गरेका छन् । धेरै सामाजिक सञ्जालमा पुल निर्माण कम्पनीलाई धन्यवाद दिएका छन् । कतियपले कामको मूल्याङ्कन गर्न सरकारलाई अनुरोध गरेका छन् । घोराही–तुलसीपुर सडकखण्डमा आधा दर्जन बढी पुल लामो समयदेखि निर्माण शुरु भएका छन् । तीमध्ये केही पुलको निर्माण अन्तिम चरणमा पुगेका छन् । तर पत्र खोलाको पुल पाँच वर्षदेखि निर्माण थालिए पनि अहिले १५ प्रतिशत काम पूरा भएको छैन ।

ग्वार पुलको निर्माण गर्ने जिम्मा कालिका रसुवा जेभीको रसुवा निर्माण कन्ट्रक्सन कम्पनीले विसं २०७४ साल असार ११ गते पाएको थियो । निर्माण कम्पनीले आगामी असार मसान्तसम्म हस्तान्तरण गर्ने सम्झौता भए पनि मङ्सिर महिनाको अन्तिमा नै सम्पन्न गरिसकेको कम्पनीका प्रतिनिधि सिनेटमान श्रेष्ठले जानकारी दिनुभयो । सो पुलको भुक्तानी तथा प्राविधकको काम पुल योजना महाशाखा सेक्टर नम्बर ३ बाँकेको रहेको छ । महाशाखाका इञ्जिनियर विश्व केसीले रु २८ करोड ३७ लाख ६६ हजारको लागतमा पुल निर्माण सम्पन्न भएको बताउनुभयो ।

उहाँले २२० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पक्की पुल निर्माणका लागि कार्यालयले विसं २०७४ असार ११ गते सम्झौता गरी २०७७ साल असारसम्ममा निर्माण गर्ने गरी जिम्मेवारी दिएकामा निर्माण कम्पनीले सात महिना अगाडि निर्माण सम्पन्न गरी हिजोदेखि सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले भौतिक पूर्वाधार मन्त्रालयमा पुल निर्माण सम्पन्न भइसकेको लिखित जानकारी गराइसकेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्जालमा समृद्ध नेपाल बनाउने सपना पूरा हुँदै आएको भन्दै तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा तोकिएको समय अगावै निर्माण कम्पनीले निर्माणको काम सम्पन्न गरी सञ्चालनमा आएकोमा धन्यवाद दिनुभएको छ । उहाँले योजना कार्यान्वयमा महत्वपूर्ण भूमिका निभाउनुहुने प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसहित सबैलाई धन्यवाद दिनुभयो । यसअघि मुख्यमन्त्री पोखरेलले सो पुलको अवलोकन तथा निरीक्षण पटकपटक गर्नुभएको थियो । सोही निर्माण कम्पनीले कपडादेवीदेखि मानपुर जोड्ने ग्वार खोलामा पक्की पुल र टरिगाउँदेखि ललौरा जोड्ने सोही ग्वारखोलको पक्की पुल पनि तोकिएको समयभन्दा छ महिना पहिले नै निर्माण सम्पन्न गरेको थियो ।

ती दुवै पुल २ सय सय मिटर लामो र १० मिटर चौडा रहेका छन् । त्यहाँ पुल निर्माण भएपछि तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका नागरिकहरुलाई यातायातमा पहुँच पुग्नुका साथै त्यहाँका किसानहरुले उत्पादन गरेका तरकारी, खाद्यान्न सामग्री बिक्रीका लागि तुलसीपुर बजारमा ल्याउन सजिलो भएको छ । रासस