काठमाडौं, भदौ ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलो थाई गाँजासहित आठ विदेशी नागरिक पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले साउन ३२ गते राति छुट्टाछुट्टै उडानबाट नेपाल आएका पाँच म्यानमार र तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ३९ किलो २८८ ग्राम थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडानमार्फत आएका पाँच म्यानमारका नागरिकको लगेज जाँच गर्दा गाँजा बरामद भएको थियो । त्यस्तै, थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडानमार्फत आएका तीन भारतीय नागरिक पनि पक्राउ परेका छन् ।
पक्राउ पर्ने म्यानमारका नागरिकमा जार नि लिन, इ इ थ्वे, आङ ब्वार, चुए म्याट थ्वाल सेइन र जिन म्यो आङ रहेका छन् । भारतीय नागरिकतर्फ पञ्जाबका खुशदीप, गुरदीप सिंह र कामिनी रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट आठ थान राहदानी र आठ थान मोबाइल फोनसमेत बरामद गरेको छ । पक्राउ परेका आठै जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन् ।














प्रतिक्रिया दिनुहोस्