जनता टाइम्स

६ भाद्र २०८३, शनिबार १३:३४

मलेसिया रोजगारीमा सिण्डिकेटको खेती : द रिभर ओभरसिजको नाम किन ? भन्दै रघु पुरीको कडा आपत्ति


काठमाडौं, भदौ ६ । नेपालीका लागि आकर्षक गन्तब्य मानिएको मलेसियाको वैदेशिक श्रमिक व्यवस्थापन सम्बन्धी संयन्त्र Foreign Workers Centralized Management System (FWCMS) अन्तर्गत नेपालबाट श्रमिक पठाउन सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था छनोट गरिएको विषयप्रति द रिभर ओभरसिजले कडा आपत्ति जनाएको छ । रिभर ओभरसिजका अध्यक्ष रघु पुरीले सो बिषयमा कडा अहसमति र आपत्ति जनाउनु भएको हो ।

एडब्लुसिएमएसले शुक्रवारमात्रै आफ्नो वेवसाइटमा नेपालबाट छनौट भएका भनेर २५ वटा मेनपावर एजेन्सीको नाम राखेको थियो । सो सूचीमा रघुको द रिभर ओभरसिज पनि परेको छ । नेपालबाट हरेक वर्ष सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा पठाउने कम्पनीमा द रिभर ओभरसिज रहेको छ । सोही कारण यो सिण्डिकेटमा आफ्नो नाम राखिएमा पुरीले आपत्ति जनाउनु भएको हो ।

वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकारसमेत रहनुभएका प्रतिष्ठित ब्यवसायी पुरीले शनिवार वक्तव्य जारी गर्दै उक्त सूचीकरणमा आफ्नो वा आफ्नो संस्थाको कुनै संलग्नता, सहमति वा समर्थन नरहेको स्पष्ट पार्नुभएको छ । पुरीका अनुसार (FWCMS) अन्तर्गत सीमित संख्याका म्यानपावर कम्पनीलाई मात्र छनोट गरी अन्य योग्य व्यवसायी संस्थालाई प्रक्रियाबाट बाहिर राख्ने व्यवस्था नेपालको वैदेशिक रोजगार क्षेत्रको स्वस्थ, पारदर्शी र प्रतिस्पर्धात्मक प्रणालीको हितमा छैन।

‘द रिभर ओभरसिज’को नामसमेत २५ वटा संस्थाको सूचीमा रहेको सार्वजनिक भएको विषयप्रति स्पष्ट पार्दै पुरीले आफू उक्त सूचीकरण प्रक्रियामा संलग्न नरहेको बताउनु भएको छ । ‘उक्त सूचीकरणमा मेरो वा मेरो संस्थाको कुनै संलग्नता, सहमति वा समर्थन छैन,’ पुरीले वक्तव्यमा भन्नुभएको छ, ‘म उक्त सीमित सूचीकरणप्रति स्पष्ट रूपमा असहमति जनाउँछु।’

पुरीले नेपालबाट मलेसियामा श्रमिक पठाउने प्रक्रियालाई निश्चित संख्याका व्यवसायी संस्थामा मात्र सीमित गर्न नहुने पनि बताउनु भएको छ । नेपाल सरकारले प्रचलित कानून, नीति, मापदण्ड र प्रक्रियाअनुसार योग्य ठहरिएका सबै वैदेशिक रोजगार व्यवसायी संस्थाले मलेसियालगायत वैदेशिक रोजगार गन्तव्यमा समान र निष्पक्ष रूपमा श्रमिक पठाउने अवसर पाउनुपर्ने उहाँको भनाइ छ।

उहाँले नेपाल सरकारको नीति, नियम र निर्णयको अधीनमा रहेर स्वस्थ र पारदर्शी वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न आफू र आफ्नो संस्था प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभएको छ । ‘व्यवसाय स्वस्थ हुनुपर्छ, प्रक्रिया पारदर्शी हुनुपर्छ, प्रतिस्पर्धा निष्पक्ष हुनुपर्छ र श्रमिकको हित सर्वोच्च हुनुपर्छ,’ पुरीले भन्नुभएको छ ।

सीमित संस्थालाई मात्र अवसर दिने व्यवस्था स्वीकार्य छैन

मलेसिया नेपाली श्रमिकका लागि महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्य रहेको भन्दै पुरीले हजारौँ नेपालीको रोजगारी र परिवारको जीविकोपार्जनसँग जोडिएको श्रम बजारलाई सीमित व्यवसायीको दायरामा राख्न नहुने बताउनु भयो ।

पुरीले सीमित व्यवसायीलाई मात्र अवसर दिने व्यवस्था कार्यान्वयन भएमा वैदेशिक रोजगार व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा र एकाधिकारको अवस्था सिर्जना हुन सक्ने तथा त्यसको प्रत्यक्ष असर नेपालबाट मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा पर्न सक्ने बताउनु भयो ।

पुरीले यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी संघलगायत सम्बन्धित सरोकारवालाले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने सुझाव दिनुभएको छ ।

यस्तै उहाँले पारदर्शी, प्रतिस्पर्धात्मक र सबै योग्य व्यवसायीलाई समान अवसर सुनिश्चित हुने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ । मलेसिया नेपाली श्रमिकको महत्वपूर्ण गन्तव्य भएकाले त्यहाँको रोजगारी प्रक्रियालाई सीमित व्यवसायीको स्वार्थमा केन्द्रित गर्न नहुने ब्यवसायी पुरीको भनाइ छ ।

पुरीले आफ्नो नाम र द रिभर ओभरसिजको नाम २५ वटा संस्थाको सूचीमा परेको विषयलाई लिएर कुनै पनि प्रकारको भ्रममा नपर्न सरोकारवालालाई आग्रह गर्नुभएको छ ।

नेपाल सरकारले निर्धारण गरेको कानून, नीति र नियमको पूर्ण पालना गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पुरीले मलेसियालगायत सबै वैदेशिक रोजगार गन्तव्यमा निर्धारित मापदण्ड पूरा गर्ने सबै योग्य वैदेशिक रोजगार व्यवसायी संस्थाले समान अवसर पाउनुपर्ने आफ्नो स्पष्ट मान्यता रहेको धारणा पनि दोहोर्याउनु भएको छ ।