जनता टाइम्स

६ भाद्र २०८३, शनिबार २२:४०

मेसीले मैदानमै विपक्षी खेलाडीलाई कुटेपछि


काठमाडौं, भदाै ६ । विश्वप्रख्यात फुटबल खेलाडी अर्जेन्टिनाका कप्तान लियोनल मेसीले मैदानमै विपक्षी खेलाडीलाई थप्पड (झापड) हानेका छन ।

मैदानमा बिपक्षी खेलाडीलाई कुटेपछि मेसी कारबाहीमा समेत परेका छन् । मेजर लिग सकर (एमएलएस) को अनुशासन समितिले मेसीलाई खेल भावना विपरीत कार्य गरेको भन्दै जरिवाना गर्ने निर्णय गरेको हो ।

बुधबार राति इन्टर मियामी र फिलाडेल्फिया युनियनबीच भएको तनावपूर्ण खेलका क्रममा मेसीले यने घटना घटाएका थिए । खेलको १०१औँ मिनेटमा फिलाडेल्फियाका खेलाडी क्विन सुलिभानले आफूलाई कुहिनोले हानेको दाबी गर्दै मेसी निकै आक्रोशित बनेका थिए । सोही विवादका क्रममा मेसीले सुलिभानको टाउकोको पछाडि र घाँटीको भागमा खुला हातले प्रहार गरेका थिए ।

मेसीकाे याे नयाँ कलालाई खेलका मुख्य रेफ्री फिलिप डुजिकको ध्यान मैदानको अर्कोतर्फ भएकाले उनले सो घटना तत्काल देखेनन । जसका कारण मेसीले मैदानमा कुनै कार्ड खानु परेन । खेल सकिएपछि भने भिडियो रिभ्यु र अनुशासन समितिको छानबिनका आधारमा मेसी दोषी ठहर भएका हुन् ।

एमएलएसको नियमअनुसार विपक्षी खेलाडीको अनुहार, टाउको वा घाँटीमा नियतवश हात पुर्याउनु गम्भीर नियम उल्लङ्घन मानिन्छ। सोही नियमका आधारमा लिगले मेसीलाई जरिवानाकाे निर्णय गरेकाे छ । जरिवानाको रकम भने सार्वजनिक गरिएको छैन।

खेलको अन्तिम समयमा मैदान थप तनावग्रस्त बनेपछि दुवै टोलीका एक–एक खेलाडीले रातो कार्ड समेत पाएका थिए।

तनावपूर्ण बनेको उक्त खेल २–२ गोलको बराबरीमा टुङ्गिएको थियो। सो खेलमा मियामीका लागि मेसीले एक गोल समेत गरेका थिए।