काठमाडौं, भदौ ७ । मलेसियाले नेपालसहित १० देशबाट श्रमिक भर्नाका लागि म्यानपावर कम्पनी सूचीकृत गरेपछि नेपालका २५ वटा म्यानपावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने भएका छन्।
मलेसियाको ‘विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली’ (एफडब्लूसीएमएस)मा सूचीकृत भएका म्यानपावर कम्पनीमार्फत मात्रै रोजगारदाताले नेपाली श्रमिक भर्ना गर्न पाउने भएका हुन्।
मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्नासम्बन्धी नयाँ प्रक्रिया पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। मन्त्रालयका अनुसार एफडब्लूसीएमएसमा सूचीकृत नभएका म्यानपावर कम्पनीमार्फत विदेशी श्रमिक भर्ना गर्न पाइने छैन।
नेपालबाट भने २५ वटा म्यानपावर कम्पनी उक्त प्रणालीमा सूचीकृत भएका छन्।
मलेसियाले नेपाली म्यानपावर कम्पनी सूचीकृत गर्ने विषयमा नेपाल सरकारसँग सहमति नलिएको जनाएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँगको भेटमा श्रमिक भर्नासम्बन्धी विषय द्विपक्षीय संवादबाट टुंग्याउनुपर्ने बताउनुभएको छ।
यसैबीच, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाले सूचीकृत गरेका २५ वटा म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेको छ।
संघले नेपालको प्रचलित ऐन, नियम तथा कानुनबमोजिम वैधानिक रूपमा व्यवसाय गरिरहेका म्यानपावर व्यवसायीको प्रतिस्पर्धा गर्ने अधिकार कुण्ठित भएको ठहर गरेको छ।














प्रतिक्रिया दिनुहोस्