काठमाडौं, भदौ ८ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएको १९ दिनपछि याङ्की उक्याबले सोमबार पदभार ग्रहण गर्नुभएको छ।
सरकारले गत साउन २० गतेको मन्त्रिपरिषद् बैठकबाट उक्याबलाई लगानी बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। नियुक्तिको १९ दिनपछि उहाँले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो।
लगानी बोर्डकी प्रवक्ता सुनिता नेपालका अनुसार सीईओ उक्याबले पदभार ग्रहण गरेपछि बोर्डका गतिविधिबारे ब्रिफिङसमेत लिनुभएको छ।
उक्याबलाई सरकारले चार वर्षका लागि लगानी बोर्डको सीईओमा नियुक्त गरेको हो। यसअघि पनि उहाँले लगानी बोर्डमा करिब चार वर्ष काम गर्नुभएको थियो। बोर्डमा रहँदा उहाँले विशेषगरी माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाको लगानी संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
विकास अर्थशास्त्रकी जानकार उक्याबले अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गर्नुभएको छ। उहाँसँग विकास वित्त, रणनीतिक साझेदारी तथा आर्थिक नीतिको क्षेत्रमा काम गरेको अनुभव रहेको छ।














प्रतिक्रिया दिनुहोस्