जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार ०७:४८

गण्डकीका मुख्यमन्त्री पाण्डेले सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर गर्नुहुने


पोखरा, भदौ ९ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्यहरूले सोध्नुहुने प्रश्नको प्रत्यक्ष जवाफ दिनुहुने भएको छ।

गत साउन १५ गतेदेखि स्थगित प्रदेशसभाको बैठक भदौ १० गते दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ। मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने भदौ ११ गतेको बैठकमा राखिएको प्रदेशसभा सचिव गोविन्द पौडेलले जानकारी दिनुभएको छ।

संघीयता कार्यान्वयनमा आएपछि गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको यो दोस्रोपटक हो। यसअघि २०८० भदौ ३ गते तत्कालीन मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भएको थियो।

मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा प्रदेश सरकारले गरिरहेका काम, नीति तथा कार्यक्रम, विकास निर्माण र जनताका समस्याका विषयमा प्रदेशसभा सदस्यहरूले उठाउनुहुने प्रश्नको जवाफ दिनुहुनेछ।

प्रदेशसभा सञ्चालन नियमावलीअनुसार सांसदहरूले मुख्यमन्त्रीसँग सोध्न चाहेका प्रश्न निश्चित समयअघि नै प्रदेशसभा सचिवालयमा लिखित रूपमा दर्ता गराउनुपर्ने व्यवस्था छ।

प्रत्यक्ष प्रश्नोत्तरमार्फत प्रदेशसभा सदस्यहरूले प्रदेशको नीति, योजना, आयोजना, सुशासन तथा विकास निर्माणलगायत विषयमा मुख्यमन्त्रीसँग प्रत्यक्ष रूपमा प्रश्न गर्न सक्नुहुनेछ। मुख्यमन्त्रीले जवाफ दिएपछि प्रश्नकर्ता सदस्यले थप स्पष्टताका लागि पूरक प्रश्नसमेत सोध्न पाउने व्यवस्था छ।

‘गण्डकी प्रदेशसभा नियमावली, २०८०’ को नियम ५६ मा मुख्यमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था गरिएको छ। नियमावलीले सामान्यतया प्रदेशसभा बैठक सञ्चालन भइरहेको अवस्थामा महिनामा एकपटक मुख्यमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची राख्नुपर्ने व्यवस्था गरेको छ।