काठमाडौं, भदौ ९। इरान–अमेरिका तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पको हत्या गर्नेलाई इरानमा १ करोड अमेरिकी डलर इनाम घोषणा गरिएको दाबी सार्वजनिक भएपछि दुई देशबीचको तनाव थप बढेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानको सरकारी टेलिभिजनसँग सम्बन्धित च्यानलमा प्रसारित एउटा भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पलाई लक्षित गर्दै उनको सुरक्षा, सम्भावित ठेगाना र दैनिक गतिविधिबारे विवरण प्रस्तुत गरिएको दाबी गरिएको छ।
यद्यपि, ब्यारोन ट्रम्पको हत्या गर्नेलाई १ करोड डलर इनाम दिने विषय इरान सरकारको औपचारिक निर्णय वा नीति भएको स्वतन्त्र पुष्टि भने भएको छैन।
यसैबीच, अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको आम्दानीका स्रोतलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाइएको बताएका छन्।
नयाँ प्रतिबन्धले इरानसँग सम्बन्धित ऊर्जा, प्रविधि, सुन तथा ढुवानीलगायत क्षेत्रमा वित्तीय दबाब बढाउने उद्देश्य राखेको अमेरिकी पक्षको भनाइ छ। इरानलाई आर्थिक रूपमा सहयोग गर्ने अन्य मुलुक तथा संस्थासमेत अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ।
अमेरिकी अर्थमन्त्री बेसेन्टले इरानलाई सहयोग गर्ने जोकोहीलाई समेत निसाना बनाइने चेतावनी दिएका छन्। इरानको आम्दानी बढाउन सहयोग गर्ने मुलुक तथा संस्थामाथि समेत कारबाही हुनसक्ने उनको भनाइ छ।
उता, इरानले अमेरिकी आर्थिक दबाब जारी रहे खाडी क्षेत्रबाट हुने तेल निर्यात रोक्न सक्ने चेतावनी दिएको छ। इरानी सुरक्षा अधिकारीहरूले इरानमाथिको अमेरिकी प्रतिबन्धलाई समर्थन गर्ने मुलुकलाई इरानविरुद्धको युद्धमा सहभागी भएको रूपमा लिइने चेतावनीसमेत दिएका छन्।
यसैबीच, ओमानको उत्तरपूर्वी समुद्री क्षेत्रमा एउटा तेल ट्यांकर अज्ञात प्रक्षेप्यास्त्र वा वस्तुको प्रहारबाट क्षतिग्रस्त भएको खबर आएको छ। बेलायती समुद्री व्यापारसम्बन्धी निकायका अनुसार घटनामा जहाजका चालक दल सुरक्षित रहेका छन्।
क्षेत्रीय तनाव कम गर्ने प्रयासस्वरूप ओमानका विदेशमन्त्री सय्यद बद्र अल–बुसैदी तेहरान जाने तयारीमा छन्। उनले इरानी अधिकारीसँग स्ट्रेट अफ होर्मुजको अवस्थालगायत क्षेत्रीय तनावबारे छलफल गर्ने बताइएको छ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार मानवीय सहायता बोकेर इरानी बन्दरगाहतर्फ गएका ४० भन्दा बढी जहाजलाई अमेरिकी नौसैनिक नाकाबन्दी पार गर्न अनुमति दिइएको छ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्सल असिम मुनीरसँगको भेटमा अमेरिकाले इरानप्रतिको भाषा र व्यवहार परिवर्तन गर्नुपर्ने बताएका छन्। दबाब र धम्कीको नीतिले समस्या समाधान गर्नुको सट्टा थप जटिल बनाउने उनको भनाइ छ।
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का प्रवक्ता होसेन मोहिबीले इरानको पूर्वाधारमाथि आक्रमण भए अमेरिकी ऊर्जा आपूर्ति मार्ग तथा रणनीतिक स्वार्थमाथि ठूलो स्तरको प्रतिकार हुनसक्ने चेतावनी दिएका छन्।
यससँगै अमेरिकी नयाँ प्रतिबन्ध, होर्मुज क्षेत्रमा बढ्दो तनाव र दुवै पक्षका सैन्य चेतावनीले इरान–अमेरिका द्वन्द्व थप गम्भीर बन्ने जोखिम बढेको छ।














प्रतिक्रिया दिनुहोस्