काठमाडौं, भदौ ९ । ट्युनिसियाको दक्षिण–पूर्वी तट नजिकै आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।
इटालीतर्फ जाँदै गरेको डुङ्गा जारजिस र बेन गुएर्दनेबीचको तटीय क्षेत्रबाट प्रस्थान गरेलगत्तै समुद्रमा डुबेको ट्युनिसियाली राष्ट्रिय गार्डले जनाएको छ। डुङ्गामा १५ जना सवार थिए।
दुर्घटनामा परेकामध्ये एक जनाको मात्रै जीवितै उद्धार गरिएको छ। उनी करिब ४८ घण्टासम्म समुद्रमा तैरिएपछि एक व्यावसायिक जहाजले उद्धार गरेको बताइएको छ।
ट्युनिसियाली मानव अधिकार अब्जर्भेटरीका प्रमुख मोस्तफा अब्देलकेबिरका अनुसार मृतकमध्ये एउटै परिवारका सात जना सदस्य रहेका छन्।
घटनापछि बेन गुएर्दने सहरमा स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध पारेपछि प्रहरीले भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको बताइएको छ।
स्थानीय युवाहरूले आर्थिक सङ्कट, बेरोजगारी र सरकारी उपेक्षाका कारण जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य भएको भन्दै रोजगारी तथा आर्थिक विकासको माग गरेका छन्।
ट्युनिसियाको दक्षिण–पूर्वी तट इटालीको लाम्पेदुसा टापुबाट करिब १४५ किलोमिटर मात्रै टाढा छ। यही कारण यो क्षेत्र युरोप प्रवेश गर्ने आप्रवासीका लागि प्रमुख तर जोखिमपूर्ण मार्गका रूपमा प्रयोग हुँदै आएको छ।
अन्तर्राष्ट्रिय प्रवासन सङ्गठन (आईओएम) का अनुसार मध्य भूमध्यसागरीय मार्ग विश्वकै सबैभन्दा घातक आप्रवासी मार्गमध्ये एक हो।














प्रतिक्रिया दिनुहोस्