जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार १४:१६

व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर अवस्थामा पुगेको छ : एफएनसीसीआई अध्यक्ष श्रेष्ठ


काठमाडौं, भदौ ९ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआईं) का अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल पछिल्लो ३६ वर्षयताकै सबैभन्दा कमजोर बिन्दुमा पुगेको तथ्य खुलासा गर्नुभएको छ ।

मंगलबारबाट सुरु भएको नाडा अटो शोमा बोल्दै एफएनसीसीआई अध्यक्ष श्रेष्ठले यस्तो तथ्य सुनाउनु भएको हो । ‘देशको अर्थतन्त्र एकदम चुनौतीपूर्ण घडीमा छ । निजी क्षेत्रले एउटै चुनौती भोगिरहेको छ त्यो हो–शिथिल बजार, कमजोर मानसिकता र चुनौतीपूर्ण व्यापार व्यवसाय । झन्डै ३६ वर्षको मेरो व्यावसायिक यात्रामा व्यवसायीहरूको यति कमजोर मनोबल कहिल्यै देखेको थिइनँ,’ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठनपछि ब्यवसायीको मनोवल गिरेको तथ्य सुनाउँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

नयाँ सरकारको ब्यवहार र कार्यशैलीबाट ब्यवसायी त्राहिमाम बनेको तथ्य खोल्दै श्रेष्ठले थप्नुभयो, ‘अहिले नयाँ सरकार आएको छ र अर्थतन्त्रलाई अगाडि बढाउँछु भनेर प्रतिबद्धताहरू व्यक्त गरेको छ । पाँचदेखि सात वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय, १०० खर्बको अर्थतन्त्र र १२ लाखलाई रोजगारी दिने घोषणा बजेट मार्फत गरेको छ । तर, ती कामहरू अगाडि बढाउन के कस्ता रणनीतिहरू कार्यान्वयन गरिरहेको छ ? त्यसबारे केही जानकारी नै छैन ।’

अध्यक्ष श्रेष्ठले सरकारले यसबारे स्पष्ट रणनीति लिएर अगाडि बढ्नु जरुरी रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई रिइन्जिनियरिङ गर्नुपर्ने अवस्था देखिएको र त्यसतर्फ सबै एक भएर लाग्नुपर्ने अवस्था रहेको तथ्य पनि औंल्याउनु भएको छ । श्रेष्ठले अटो क्षेत्रकै मात्र कुरा गर्ने हो भने पनि गत आर्थिक वर्षमा नेपालमा १०६ अर्बको अटोमोवाइल क्षेत्रका सामानहरू आयात भएको र सो आयातबाट ८१ अर्ब सरकारलाई राजस्व बुझाएको बताउनु भयो । उहाँका अनुसार करिब १८ खर्बको आयातमा झण्डै ९ प्रतिशतको राजस्व नेपालको अटो क्षेत्रले सरकारलाई बुझाएको देखिन्छ ।

‘हामीले केही समयअघि तत्कालीन अर्थमन्त्री डा.रामशरण महतलाई अटोमोवाइल क्षेत्रमा भन्सार दर बढी भएकोले घटाउन आग्रह गरेका थियौं । उहाँले तपाईंहरू नै उद्योग खोल्नोस भन्नुभएको थियो । हामी केहीले उद्योगहरू पनि खोलेका थियौं । तर ती उद्योगहरू के कस्तो अवस्थामा छ भनेर सरकारले कहिल्यै ध्यान नै दिएन’, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठले अहिलेको सरकारले २०÷३० वर्षदेखि बन्द भएको सरकारी उद्योग सञ्चालन गर्ने तर निजी क्षेत्रले सञ्चालन गरेको उद्योगबारे ध्यानै नदिएको भन्दै कडा असन्तुष्टि पनि जनाउनु भयो । ‘सरकारले निजी क्षेत्रले सञ्चालन गरेको उद्योगतिर पनि ध्यान दिनुपर्ने र उनीहरूको अवस्थाबारे पनि बुझ्न जरुरी छ,’ श्रेष्ठले भन्नुभयो ।

उहाँले सरकारको प्राथमिकता र काम गराई बेठीक भएकोतर्फ पनि ध्यानाकर्षण गराउनु भयो । ‘भुइँको टिप्छु भन्दा पोल्टाको पनि झर्ला’ भन्ने बुढापाकाको उखानजस्तै होला,’ अध्यक्ष श्रेष्ठको भनाई थियो ।