काठमाडौं, भदौ ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सर्भेक्षक विन्देश्वर शाह सुडीले पौने ४ करोड अबैध सम्पत्ति आर्जन गरेको देखिएको छ ।
सुडीले पदीय दुरुपयोग गरी अबैध सम्पत्ति आर्जन गरेको देखिएपछि उहाँविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले सुडीले ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै आज मुद्दा दायर गरेको हो ।
सर्भेक्षक सुडीले अमिन पदमा अस्थायी नियुक्ति लिएको २०४२ साल वैशाख १६ देखि २०८१ जेठ मसान्तसम्मको अवधिमा कुल ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक रूपमा आय गरेको देखिएको अख्तियारको ठहर छ । अख्तियारका अनुसार सोही अवधिमा सुडीको खर्च र विभिन्न क्षेत्रमा गरिएको लगानी भने ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा देखिएको छ ।
आफ्नो वैधानिक आयभन्दा ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी खर्च गरेको र सो रकमको स्रोत खुलाउन नसकेपछि अख्तियारले सुडीलाई भ्रष्टाचारको मुद्दा चलाएको हो ।
अवैध रूपमा आर्जन गरिएको सम्पत्ति सुडीले श्रीमती सुमित्रादेवी शाहको नाममा समेत राखेको पाइएकाले उहाँलाई पनि प्रतिवादी बनाइएको छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले सुडीले श्रीमती सुमित्राको नाममा रहेका घर, जग्गा तथा अन्य सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको हो ।
सुडी २०४६ वैशाख १६ गते सरकारी सेवामा अमिन पदबाट अस्थायी नियुक्ति लिई प्रवेश गर्नुभएको थियो । लामो समय सार्वजनिक सेवामा रहँदा उहाँले पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक रूपमा सम्पत्ति जोडेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो।














प्रतिक्रिया दिनुहोस्