जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार २०:५८

निजी क्षेत्रलाई बेवास्ता गरे ‘भुइँको टिप्दा पोल्टाको पनि झर्ला’ : अन्जन श्रेष्ठ


काठमाडौं, भदौ ९ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल ३६ वर्षयताकै कमजोर अवस्थामा पुगेको बताउनुभएको छ।

मंगलबार काठमाडौंमा आयोजित नाडा अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभएको हो। उहाँका अनुसार निजी क्षेत्रले शिथिल बजार, कमजोर मनोबल र चुनौतीपूर्ण व्यावसायिक वातावरणको सामना गरिरहेको छ।

‘देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण घडीमा छ। निजी क्षेत्रले अहिले शिथिल बजार, कमजोर मानसिकता र चुनौतीपूर्ण व्यापार व्यवसायको सामना गरिरहेको छ। झन्डै ३६ वर्षको मेरो व्यावसायिक यात्रामा व्यवसायीहरूको मनोबल यति कमजोर भएको कहिल्यै देखेको थिइनँ,’ उहाँले भन्नुभयो।

वालेन्द्र शाह नेतृत्वको सरकारले अर्थतन्त्रलाई गति दिने प्रतिबद्धता जनाए पनि त्यसका लागि तय गरिएका रणनीतिबारे निजी क्षेत्र स्पष्ट हुन नसकेको उहाँले बताउनुभयो।

सरकारले आगामी पाँचदेखि सात वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने, अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ पुर्‍याउने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य बजेटमार्फत घोषणा गरेको स्मरण गराउँदै उहाँले ती लक्ष्य हासिल गर्न सरकारले कस्तो रणनीति अपनाइरहेको छ भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयो।

अध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्रलाई अहिले ‘रि–इन्जिनियरिङ’ गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँका अनुसार अटोमोबाइल क्षेत्रले गत आर्थिक वर्षमा करिब १०६ अर्ब रुपैयाँ बराबरका वस्तु आयात गरेको थियो। त्यसबाट सरकारले करिब ८१ अर्ब रुपैयाँ राजस्व प्राप्त गरेको उहाँले बताउनुभयो।

‘करिब १८ खर्ब रुपैयाँको कुल आयातमा झन्डै ९ प्रतिशत राजस्व नेपालको अटो क्षेत्रले सरकारलाई बुझाएको छ,’ उहाँले भन्नुभयो।

अटोमोबाइल क्षेत्रमा भन्सार दर बढी हुँदा विगतमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतसँग भन्सार दर घटाउन आग्रह गरेको स्मरण गर्दै श्रेष्ठले त्यसबेला आफूहरूलाई उद्योग स्थापना गर्न सुझाव दिइएको बताउनुभयो। त्यसपछि केही व्यवसायीले उद्योगसमेत स्थापना गरेको तर ती उद्योगको वर्तमान अवस्थाबारे सरकारले चासो नदिएको उहाँको गुनासो छ।

सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योग सञ्चालनको तयारी गरिरहँदा निजी क्षेत्रका सञ्चालनमा रहेका उद्योगको अवस्थाबारे पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

‘सरकारले २०/३० वर्षदेखि बन्द रहेका सरकारी उद्योग सञ्चालन गर्ने कुरा गरिरहेको छ। निजी क्षेत्रका उद्योगको अवस्थाबारे पनि सरकारले ध्यान दिनुपर्छ। उनीहरूलाई पनि बुझ्न र संरक्षण गर्न जरुरी छ,’ उहाँले भन्नुभयो।

सरकारले एउटा क्षेत्रमा सुधार गर्न खोज्दा अर्को क्षेत्रमा समस्या सिर्जना हुन नदिनेतर्फ सचेत हुनुपर्ने उहाँको सुझाव छ। निजी क्षेत्रलाई बेवास्ता गरेर आर्थिक सुधार अघि बढाउँदा उल्टै अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने उहाँले चेतावनी दिनुभयो।

‘भुइँको टिप्छु भन्दा पोल्टाको पनि झर्ला भन्ने बुढापाकाको उखानजस्तै नहोस्,’ उहाँले भन्नुभयो।