काठमाडौं, भदौ १०। सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले तीन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै विपद्बाट प्रभावित क्षेत्रमा आवश्यक सम्पूर्ण काम तत्काल अघि बढाउने निर्णय गरेको हाे । बैठकले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको अवस्था र आवश्यकताको प्रत्यक्ष मूल्यांकन गरी उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रअनुसार फिल्डमै खटिन निर्देशन दिएको छ।
सरकारले प्रभावित जिल्लामा तत्काल आवश्यक पर्ने जनशक्ति, स्रोत–साधन तथा सेवा परिचालन गरी विपद् व्यवस्थापनका कामलाई तीव्रता दिने निर्णय गरेको छ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। संकटग्रस्त क्षेत्र घोषणासँगै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काम थप तीव्र रूपमा अघि बढाउने सरकारको तयारी छ।














प्रतिक्रिया दिनुहोस्