जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार १०:०९

भोटेकोसी बाढीको विनाशः सडक–पुलदेखि जलविद्युत् आयोजनासम्म तहसनहस, क्षति दुई खर्ब हाराहारी


काठमाडौं, १ १ भदौ । रसुवाको भोटेकोसी नदीमा बुधबार आएको भीषण बाढीले दशकौँ लगाएर निर्माण गरिएका सडक, पुल, जलविद्युत् आयोजना तथा विद्युत् प्रसारण संरचनामा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब दुई खर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुगेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ।

भोटेकोसी नदी पछ्याउँदै नुवाकोटको बट्टार, विदुर, त्रिशूली, बेत्रावती हुँदै रसुवाको स्याफ्रुबेँसी, टिमुरे र नेपाल–चीन सीमा क्षेत्रसम्म पुग्दा बाढीले पुर्‍याएको विनाशको भयावह दृश्य देखिएको छ। नदी किनारका बस्ती, बजार, सडक, पुल तथा जलविद्युत् आयोजनाका संरचना बाढीले बगाएको वा गेग्रानले पुरेको छ।

हेलिकोप्टरबाट प्रभावित क्षेत्रको अवलोकन गर्दा नदी किनारमा रहेका कतिपय बस्तीको अस्तित्वसमेत नरहेको देखिएको छ। कुनै समय मानिसको चहलपहल हुने टिमुरे बजार अहिले खोला, ढुंगा र माटोको थुप्रोमा परिणत भएको छ।

बाढीले नेपाल–चीन जोड्ने पासाङल्हामु राजमार्गको विभिन्न खण्डमा समेत ठूलो क्षति पुर्‍याएको छ। गाउँ तथा राजमार्ग जोड्ने १९ वटा मोटरेबल पुल र करिब ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएको प्रारम्भिक विवरण छ।

मितेरी पुल फेरि बग्यो

नेपाल–चीन सीमा क्षेत्रमा रहेका भन्सार, यार्डलगायत संरचनासमेत बाढीबाट प्रभावित भएका छन्। गत वर्षको बाढीमा बगेको मितेरी पुलको स्थानमा गत पुसमा सञ्चालनमा ल्याइएको बेलिब्रिजसमेत यसपटकको बाढीले बगाएको छ।

जलविद्युत् आयोजनामा ठूलो क्षति

भोटेकोसी बाढीबाट नुवाकोट र रसुवाका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। नदी बेसिनमा विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित १२ वटा उत्पादन केन्द्रमा क्षति पुगेपछि करिब ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।

रसुवागढी, माथिल्लो सान्जेन, सान्जेन, चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो मैलुङ, मैलुङलगायत जलविद्युत् आयोजनाका संरचनामा बाढीले क्षति पुर्‍याएको छ। त्रिशूली जलविद्युत् आयोजना तथा देवीघाट जलविद्युत् केन्द्रका संरचनासमेत प्रभावित भएका छन्।

नुवाकोटमा सरकारी लगानीमा सञ्चालित २५ मेगावाट क्षमताको सौर्य आयोजनामा समेत क्षति पुगेको छ। केही सोलार प्यानल जोगिए पनि ठूलो हिस्सा बाढीले बगाएको छ।

प्रसारण संरचना पनि प्रभावित

बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने नुवाकोटमा आंशिक विद्युत् अवरोध भएको छ। विभिन्न स्थानमा ११ केभीका विद्युत् पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ।

त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसनमा पूर्ण क्षति पुगेको छ। चिलिमे २२० केभी हब टावरमा क्षति भएपछि उक्त संरचना बन्द गरिएको छ।

त्यस्तै, समुद्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइनसमेत बाढीका कारण अवरुद्ध भएका छन्।

भोटेकोसी बाढीले मानवीय क्षतिसँगै महत्वपूर्ण भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित संरचनाको विस्तृत मूल्यांकन तथा पुनर्निर्माणका लागि दीर्घकालीन योजना आवश्यक देखिएको छ।