काठमाडौं, १० भदौ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि १८ करोड ९६ लाख २२ हजार रुपैयाँ (१२ लाख अमेरिकी डलर) तत्काल सहयोग गर्ने भएको छ।
तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएपछि नेपाल रेडक्रसका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली परिचालन गरिएको आइएफआरसीले जनाएको छ।
आइएफआरसीका महासचिव जगन चापागाईंले विपद् प्रतिकार्यलाई सुदृढ गर्दै प्रभावित समुदायमा तत्काल मानवीय सहायता पुर्याउन आर्थिक सहयोग उपलब्ध गराउन लागिएको जानकारी दिनुभएको छ।
सामाजिक सञ्जालमार्फत उहाँले नेपाल रेडक्रस तथा सम्बन्धित राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकताअनुसार प्रभावित समुदायका लागि थप सहयोग परिचालन गर्न आइएफआरसी तयार रहेको बताउनुभएको छ।
उहाँका अनुसार रेडक्रसका स्वयंसेवकहरू प्रभावित समुदायमा पुगेर प्रारम्भिक राहत तथा मानवीय सहायता उपलब्ध गराउन सक्रिय भइरहेका छन्।
बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको र धेरै नागरिक बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै महासचिव चापागाईंले मृतकका परिवारप्रति समवेदना तथा प्रभावितप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्